दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘रंगेली’ अमेरिकामा प्रिमियर हुने भएको छ।
यो फिल्म क्यालिफोनियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा रेड कार्पेट प्रिमियर हुन भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए। फिल्मको अमेरिकाको वितरण अधिकार समेत बिक्री भइसकेको छ।
अमेरिकाको लागि फिल्मको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ ले किनेको हो। यसअघि फिल्मको जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईं र युएनए इन्टरटेनमेन्टले किनिसकेको छ। साथै अष्ट्रेलियामा पनि ‘रंगेली’ बिक्री भइसकेको छ।
हाल छायांकन भइरहेको फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन्।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।
संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुज जंग थापा छन्। सेतोपाटी