Loktantra Khabar National Weekly
Ad

माटो चोर्न प्रयोग भएका एस्काभेटर र टिपर खोज्दै प्रहरी

लोकतन्त्र खबर
३ कार्तिक २०८०

‘सार्वजनिक जग्गाबाट माटो चोर्न स्थानीय जनप्रतिनिधि, ठेकदार लगायतको मिलेमतो’

बारा । प्रहरीले जीतपुर सिमरा उपमहानगरभित्र सार्वजनिक जग्गाबाट माटो चोर्न प्रयोग भएको एस्काभेटर र टिपर खोजी गरिरहेको छ ।

उपमहानगरले ईलाका प्रहरी कार्यालय सिमरालाई पत्र पठाएर सार्वजनिक जग्गाबाट माटो चोरी गर्ने कार्यमा प्रयोग भएको सवारी साधनलाई नियन्त्रणमा लिन अनुरोध गरेपछि प्रहरीले टिपर र  एस्काभेटरको खोजी सुरु गरेको हो ।

साविक फत्तेपुर गाविस वडा नं ९ (हाल जीतपुर सिमरा उपमहानगर वडा नं ११) को कित्ता नं ३५ को ५ बिघा जग्गाबाट ३६ हजार ४६ घनफिट माटो बिक्री गर्न नगर कार्यपालिकाबाट अनुमति लिए पनि कित्ता नं ४२ को ऐलानी जग्गाबाट स्वीकृत परिमाणभन्दा धेरै उत्खनन् गरेको उजुरी परेकाले उपमहानगरबाट उत्खनन् अनुमति लिएका सवारी साधन नियन्त्रणमा लिइ र चालकलाई निगरानीमा राखी अनुसन्धानमा सहयोग गर्न भन्दै उपमहानगरले ईप्रका सिमरालाई पत्र पठाएको हो ।

जीतपुर सिमरा उपमहानगर–११ को वडा कार्यलयलको सिफारिसमा असोज ५ गते व्यक्तिको भोगचलनमा रहेको कित्ता नं ३५ को ५ बिघाबाट ७२ हजार रुपैयाँ राजस्व लिएर उपमहानगरले सय टिपर माटो उत्खनन् गर्न अनुमति दिएको थियो । तर व्यक्तिको भोगचलनको जग्गा देखाएर कित्ता नं ४२ को सार्वजनिक जग्गाबाट करिब एक हजार टिपर माटो चोरी भएपछि सो कार्यमा प्रयोग भएको सवारी साधनको खोजी सुरु भएको हो ।

उपमहानगरले एक्साभेटर सहित विभिन्न ८ वटा सवारी साधन नियन्त्रणमा लिइ चालकलाई निगरानी राख्न प्रहरीलाई अनुरोध गरेको छ । प्रहरीलाई पठाएको पत्रको बोधार्थ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैया, अस्थायी प्रहरी चौकी फत्तेपुर र वडा नं ११ को वडा कार्यालयलाई पनि पइठाएको छ ।

इप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले सार्वजनिक जग्गाबाट माटो चोरी गर्ने कार्यमा संग्लन सवारी साधनको खोजी भइरहेको बताए । ‘हामीले सवारी धनी खुलाएर पठाउन वीरगञ्जस्थित यातायात कार्यालयलाई, मातहतका प्रहरी चौकी, ट्राफिक प्रहरी कार्यालय सबैतिर पत्राचार गरेका छौँ, यातायातबाट सवारी धनी खुलेर आउनासाथ सबैकुरा थाहा हुन्छ,’  ईप्रका सिमराका प्रमुख क्षेत्रीले भने ।

व्यक्तिको भोगचलनको जग्गा देखाएर सार्वजनिक जग्गाबाट माटो उत्खनन् भएपछि उपमहानगरले अधिकृत बालाराम खड्काको नेतृत्वमा प्राविधिक सहितको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले वडा नं ११ का वडाध्यक्ष विन्दालाल साह सहित वडा समिति सदस्यहरु, केही राजनीतिक दलका प्रतिनिधि र ठेकदारको मिलेमतोमा माटो चोरी भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

इन्जिनियर सञ्जीव रुपाखेतीले सार्वजनिक जग्गाबाट माटो चोरी कार्यमा क–कसको संग्लनता थियो भन्ने सबै खुलाएर प्रमुख प्रशासकीय अधिकृत वेदराज फुयाल्लाई २ दिनअघि नै प्रतिवेदन बुझाएको बताए । ‘अब कारबाही के हुने भन्ने विषयमा दसैँपछि मात्रै निर्णय होला,’ उनले भने । माटो चोरी कार्यमा संग्लन भएको एस्काभेटर र टिपर जीतपुरका व्यवसायी सुनिल गुप्ताको रहेको उपमहानगरले जनाएको छ ।

गुप्ताको एक्साभेटर उपमहानगरले यसअघि नियन्त्रणमा लिएर प्रहरीको रोहवरमा सर्जविन मुचुल्का सहित वडा नं ११ को स्थानीय दाना उद्योगभित्र राखेको थियो । प्रहरीको निगरानीमा राखिएको एस्काभेटर रातारात भगाइएको वडा नं ११ का निर्वमान वडाध्यक्ष विनोद यादवले जनाएका छन् । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: