Loktantra Khabar National Weekly
Ad

नेप्सेमा १.०६ प्रतिशतको गिरावट, कारोबार रकम बढेर १ अर्ब ७० करोड पुग्यो

लोकतन्त्र खबर
२५ आश्विन २०८०

काठमाडौं  असोज २५, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । बुधबार ५.१६ अंकले बढेर १८९४.७६ को विन्दुमा बन्द भएको नेप्सेमा बिहीबार पुनः गिरावट भयो । बिहीबार बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो ।

यो साता बुधबारबाहेक ४ कारोबार दिन नै नेप्सेमा गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५२ प्रतिशत, जीवन बीमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार नेप्सेमा ६२ हजार ४६ वटा कारोबारमा ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ । मंगलबार १ अर्ब २८ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर करिब १ अर्ब ९ करोडमा सीमित भएको थियो । बिहीबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको हो ।

कारोबारमा आएकामध्ये लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको भने स्थिर छ ।

कारोबारमा आएकामध्ये भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूलय १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । दुवै कम्पनी बुधबार नेप्सेमा सूचीकृत भएर बिहीबारदेखि कारोबारमा आएको हो ।

यस्तै हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार कारोबार सुरु भएको कम्पनीको सेयरमूल्य लगातरा दोस्रो दिन पनि सर्किट लेभलमा बन्द भएको हो ।

सिटी होटलको सेयरमूल्य भने सर्वाधिक ९.०९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ८.१९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.०५ प्रतिशतले गिरावट भएको छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: