Loktantra Khabar National Weekly
Ad

बैंकर बन्ने सपना देखेकी वर्षा यसरी बनिन् अभिनेत्री

लोकतन्त्र खबर
२५ आश्विन २०८०

वर्षा सिवाकोटीले देखेको एक मात्र सपना थियो  — बैंकर बन्ने।

यो सपना उनले आफ्ना बुबाको आँखाबाट देखेकी थिइन्। उनका बुवा काठमाडौंको एक बैंकमा काम गर्थे। काममा जाँदा कहिलेकाहीँ उनलाई पनि सँगै लिएर जान्थे।

सानी वर्षालाई आफ्नो टेबलमा राखेर भन्थे — तिमी पनि यस्तै हुनुपर्छ। यस्तै विषय पढ्नुपर्छ।

‘बुबाले कुर्सीमा बसेर अरूलाई काम लगाएको र बैंकको नेतृत्व सम्हालेको मलाई खुब मनपर्थ्यो। त्यहाँको माहोलले मलाई पनि आकर्षित गरेको थियो,’ पुराना दिन सम्झिँदै वर्षाले भनिन्।

सानै उमेरदेखि बैंकर बन्ने सपना बुन्दै उनी एसएलसीपछि व्यवस्थापन संकायमा भर्ना भएर पढ्न थालिन्।

१२ कक्षा पढ्दै गर्दा उनका सपनामा आँखा मिलाइरहेका बुवाको निधन भयो।

बुबाले दुनियाँ छाडेर गए पनि वर्षाले उनीसँगै देखेको सपना छाडिनन्। बैंकमा जागिर खाने सपना पूरा गर्ने अडान लिएकी थिइन्। त्यसैले बिबिएमा बैंकिङ-बीमासम्बन्धी विषय रोजिन्।

तर जीवनका बाटा सबै सोचेजस्ता कहाँ हुन्छन् र!

वर्षा आज बैंकिङ क्षेत्रमा होइन फिल्म क्षेत्रमा छिन्। बैंकर बन्ने धुन सवार भएकी उनी अभिनेत्री बनिन्।

उनको यो बाटो मोडिएको बिबिए पढ्दै गर्दा नै हो।

कलेजमा एउटा सौन्दर्य प्रतियोगिता भएको थियो। वर्षा सहभागी भइन्। प्रतियोगितामा ‘वाक’ गर्नुपर्थ्यो, नाच्नुपर्थ्यो, अभिनय गर्नुपर्थ्यो। कलेजमा पहिलोपटक नाचिन् उनी। सबैले प्रशंसा गरे। प्रतियोगिता नजिते पनि ‘मिस ट्यालेन्ट’ को उपाधि आफ्नो पोल्टामा पारिन्।

त्यो बेला नृत्य सिकाउन कलेजमा पेसागत कोरियोग्राफरलाई बोलाइएको थियो।

प्रतियोगिता सकिएपछि कोरियोग्राफर प्रतिमा श्रेष्ठले भनिन्, ‘वर्षा, हामी फिल्ममा पनि काम गरिरहेका हुन्छौं। कुनै दिन फिल्मबाट अफर आयो भने तिमी गर्छौ?’

वर्षाले सामान्य रूपमा लिँदै भनिन्, ‘किन नहुनु! हुन्छ!’

सानैदेखि नाच्न रूचाउने वर्षाले हिरोइन बन्छु भनेर चाहिँ कल्पनै गरेकी थिइनन्। फिल्म क्षेत्रमा उनको परिवारबाट पनि कोही आवद्ध थिएन। फिल्मी दुनियाँ उनको सोचभन्दा धेरै बाहिरको कुरा थियो।

करिब एक महिनापछिको कुरा — वर्षालाई प्रतिमाको फोन आयो। एउटा राम्रो ब्यानरका लागि नयाँ हिरोइन चाहिएको प्रतिमाले सुनाइन्।

‘नयाँ हिरोइन भन्नेबित्तिकै तिमीलाई सम्झियौं, तिमी इच्छुक छौ भनेर सोध्नुभयो,’ वर्षाले भनिन्।

सुरूमा उनी अचम्म परिन्। अनकनाउँदै एकपटक घरमा सल्लाह गर्छु भन्ने जबाफ दिइन्। घरमा सुनाउनेबित्तिकै सबै जना उत्साहित भए।

आमाले भनिन्, ‘फिल्मबाट अफर आउँदा किन नगर्ने!’

परिवारलाई वर्षाले फिल्ममा काम गर्न सक्छिन् भन्ने विश्वास थियो। उनीहरूले वर्षाको नृत्यप्रतिको रूचि बुझिरहेका थिए।

परिवारकै साथ भएपछि उनलाई के चाहियो! निर्माण टिमलाई भेट्न वर्षा छायांकन सेटमै गइन्। त्यति बेला ‘नाइँ नभन्नु ल २’ को छायांकन भइरहेको थियो। पहिलोपटक छायांकन सेटमा पुगेकी उनी आफूलाई मनपर्ने कलाकार प्रियंका कार्की र सरोज खनाललाई देखेर दंग परिन्।

‘म त्यहाँ पुग्दा छायांकन रोकिएको थियो। सेटमा सबैले मलाई हेर्नुभयो। म एकदमै नर्भस भएँ। सबैले मलाई किन हेरेको भनेर केही समयपछि थाहा पाएँ,’ वर्षाले अनुभव सुनाइन्, ‘नाइँ नभन्नु ल २ को मुख्य बालकलाकार सुज्ञानी भट्टराईको अनुहार मसँग मिल्दोजुल्दो रहेछ। ठूली सुज्ञानीको भूमिका मेरो थियो।’

सेटबाट फर्किँदा समेत उनलाई आफू फिल्म खेल्छु भन्ने विश्वासै लागेको थिएन।

निर्देशक विकाश आर्चायले उनको पढाइमा असर नपर्ने गरी समय मिलाइदिए। प्रचारप्रसार सामग्रीमा उनले राम्रो स्थान पाइन्।

पहिलो फिल्मबाटै राम्रो प्रतिक्रिया पाएको उनी बताउँछिन्।

‘नाइँ नभन्नु ल २ प्रदर्शन हुनुअघि नै म लगभग सेलिब्रेटी भइसकेकी थिएँ। कलेज जाँदा पनि साथीहरूले गर्ने व्यवहारमा फरक पाइरहेकी थिएँ। यस्तै माहोलले मलाई फिल्म क्षेत्रमा आकर्षित गर्‍यो,’ उनले भनिन्।

त्यसपछि उनलाई म्युजिक भिडिओमा पनि काम गर्ने प्रस्ताव आउन थाल्यो। केहीमा काम गरिन्।

फिल्म प्रिमियरमा उनी परिवारसहित गएकी थिइन्।

छोटो दृश्य भएकाले परिवारका सदस्यले भनेछन् — तिमीलाई त अझै हेर्न मन थियो। कति छिट्टै सकियो?

उनलाई पनि ठूलो स्क्रिनमा धेरैबेर देखिने मोह जाग्यो।

राम्रो फिल्मको पर्खाइमा रहेकी वर्षाले करिब एक वर्षपछि दोस्रो फिल्म पाइन् ‘पशुपति प्रसाद’। यसमा पनि उनको भूमिका छोटो नै छ। तर यो फिल्मले उनलाई अझै चर्चा दियो।

त्यसपछि उनले ‘लप्पन छप्पन’, ‘भैरे’, ‘कारखाना’, ‘पुरानो बुलेट’, ‘वीर विक्रम २’, ‘लक्का जवान’, ‘मनसँग मन’, ‘ए साथी सुन’ जस्ता फिल्ममा अभिनय गरिन्।

अब उनी ‘परदेशी २’ को प्रदर्शनको पर्खाइमा छिन्। यो फिल्म असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ। नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा गायक प्रकाश सपूत र केकी अधिकारीको पनि मुख्य भूमिका छ।

हरेक फिल्मबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँछिन् उनी।

‘यो मेरो सिक्ने समय हो। मैले हरेक फिल्मबाट केही न केही सिक्ने अवसर पाएकी छु। अब अहिले आएर आफूलाई कुन भूमिका गर्दा चित्त बुझ्छ, कुन पात्रमा आफूले राम्रो प्रस्तुति दिन सक्छु, त्यस्तै फिल्मको पर्खाइमा छु,’ उनले भनिन्।

आफ्नो अभिनय करिअर फर्केर हेर्दा अहिलेसम्म आफूलाई चित्त बुझ्ने भूमिका भने पाएकी छैनन्।

भन्छिन्, ‘कलाकारलाई आफूलाई पर्दामा देखिरहने लोभ हुन्छ। मलाई आफूमाथि जति विश्वास छ, त्यो स्तरको काम गर्न सक्छु भनेर दर्शकलाई देखाउन पाएकी छैन। एउटा राम्रो अवसरको खोजीमा छु।’

फिल्म क्षेत्रमा नौ वर्ष बिताइसकेकी वर्षा यो क्षेत्रमा महिलाहरूलाई टिक्न गाह्रो पर्ने बताउँछिन्।

‘अहिले महिला धेरै अगाडि बढिसकेका छन्। तर जुन ठाउँमा पुग्न सहज हुनुपर्ने हो, त्यो छैन। फिल्म क्षेत्रमा महिलाको यात्रा नै छोटो हुन्छ। हामीलाई प्राथमिकतामा होइन, विकल्पमा राखिन्छ। प्रस्ताव आउँदा पुरूष कलाकार पक्का भइसकेको हुन्छ। यो नभए यो भन्ने विकल्प राखिएको हुँदैन। महिलाको हकमा भने जहिल्यै अन्यौलमा रहेको र धेरै विकल्प खोजिरहेको देख्दा खल्लो लाग्छ,’ उनले भनिन्।

कहिलेकाहीँ आफ्ना लागि भनेर लेखिएको भूमिका आए पनि हुन्थ्यो जस्तो लाग्छ उनलाई।

‘तर सानो कुरामा पनि चित्त बुझेन भने फिल्म निर्माण टिमसँग विकल्प हुन्छ,’ उनले थपिन्, ‘मान्छेहरूसँग राम्ररी घुलमिल हुन सकिएन भने, आफू सहज हुन सकिएन भने फिल्म क्षेत्रमा टिक्न गाह्रो हुन्छ।’

राम्रो प्रस्तुति दिन पनि महिलालाई राम्रो स्थान नदिइएको उनको गुनासो छ। पछिल्लो समय महिलाप्रधान फिल्म बनिरहेका छन्। तर जुन तरिकाले समीक्षात्मक र व्यावसायिक रूपमा अगाडि आउनुपर्ने हो, त्यो हुन सकेको छैन।

आफूले सोचेजस्तो भूमिका निर्वाह गर्न आफ्नै लगानीमा फिल्म बनाउनुपर्छ भन्ने उनलाई लाग्न थालेको छ। तर यसका लागि आफू तयार नभइसकेको उनी बताउँछिन्। त्यसैले आफूलाई आएका काममध्ये राम्रो छानेर गर्ने प्रयास गरिरहेको उनले बताइन्।

उनलाई समाजमा प्रभाव पार्न सफल महिलाको भूमिकामा देखिने इच्छा छ।

वर्षाका अनुसार अभिनेत्रीका रूपमा फिल्म क्षेत्रमा टिकिरहन आर्थिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ। धैर्यपूर्वक आफ्नो काम अगाडि बढाउन आवश्यक छ।

‘म नयाँ तरिकाले आउँछु भन्ने ऊर्जा आइरहेको छ। मेरो फिल्मी यात्रा गाह्रो थियो। म पुरूष भएको भए अलि सजिलो हुन्थ्यो होला जस्तो लाग्छ। तर मैले गर्न सकेँ भनेर गर्व महसुस हुन्छ,’ उनले भनिन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: