Loktantra Khabar National Weekly
Ad

एमाले सुदूरपश्चिमको अध्यक्षमा जुटेन सहमति, प्रतिनिधि घर फर्किएपछि निर्वाचनको तयारी

लोकतन्त्र खबर
२५ आश्विन २०८०

धनगढी  । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा नेतृत्वको लागि सहमति जुटाउन गरिएको पाँच दिन लामो प्रयास असफल भएको छ । सहमतिको प्रयास विफल भएसँगै मतदान तयारी भइरहेको छ । खासगरी उपसचिवमा सहमति जुट्न नसक्दा सर्वसम्मतको प्रयास असफल भएको हो ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले अध्यक्षका लागि अहिलेसम्म कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको बताए । दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको हो ।

मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउँदै निर्वाचन अधिकृत पालले त्यस लगत्तै मतदान हुने जानकारी दिए ।

यसअघि अध्यक्षका लागि जैसी र साउदसहित कमल तिमिल्सेना, बच्चन सिंहले पनि उम्मेदवारी दिएका थिए । तर नेताहरुबीच जैसीमा केन्द्रित रही सहमतिको खाका ल्याएपछि तिमिल्सिना र सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । तर साउदले भने उम्मेदवारी कायमै राखेका हुन् ।

यसैबीच सहमतिको प्रयासमा पाँच दिन बितेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आएका धेरै प्रतिनिधिहरू घरफर्किएका छन् । नेताहरुले सहमतिको नाममा प्रतिनिधिहरूको अवमुल्यन गरेको र धेरै विलम्ब गरेको भन्दै रुष्ट भएका प्रतिनिधिहरू घर फर्किएका हुन् ।

अध्यक्षका प्रत्यासी साउदले आफू सहमतिमा आउन तयार रहेको तर अर्को पक्षले जालझेल र षडयन्त्र गरेको बताए । उनले भने -‘म अध्यक्षको उम्मेदवारी फिर्ता लिन तयार थिए, तर जालझेल र षडयन्त्र भयो । उपसचिवमा नरबहादुर विक र भागिरथी विष्टलाई सर्वसम्मत गराउने भनिए पनि अन्य प्रत्यासीलाई उम्मेद्वारी फिर्ता नगराएर तिकडम गरियो । त्यसैले अव निर्वाचनमा जानुको विकल्प छैन । ‘ रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: