
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीको नेतृत्व सहमतिबाट चयन गर्न एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बुधबार राति नै आर्थिक राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर नेतृत्व चयन प्रक्रिया सुरु भएको हो ।
बन्दसत्रले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको उपसचिव आरती भण्डारीले जानकारी दिइन् ।
‘बिहीबार बिहानैबाट शीर्ष नेताहरू जनकपुरमा सहमति जुटाउन छलफलमा जुट्नु भएको छ’, भण्डारीले भनिन्, ‘सहमति जुटाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेस प्रदेश इन्चार्ज समेत रहेका सचिव योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठ, नेता लिला श्रेष्ठ, सरोज यादव लगायतका नेता अहिले आन्तरिक छलफलमा हुनुहुन्छ ।’
एमाले अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । एमालेले मधेस प्रदेश कमिटीमा पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै छ । मधेस प्रदेशको इन्चार्जसमेत रहेका सचिव योगेश भट्टराईले सकेसम्म सहमतिबाटै नेतृत्व छनोटको प्रयास भइरहेको बताए । ‘सकेसम्म सहमति जुटाउने प्रयास हुन्छ भएन भने निर्वाचनमा जाने विकल्प छदै छ’, भट्टराईको भनाइ छ ।
एमाले मधेसमा नेताहरुका आआफ्नै गुट छन् । ईश्वर पोखरेलदेखि रघुवीर महासेठ, लिला श्रेष्ठ र सरोज यादवका गुट रहेकाले सहमति जुट्न कठिन हुने बताइएको छ । यद्यपि अध्यक्ष केपी शर्मा ओलीले मधेसमा सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले नेताहरूलाई कसका नाममा सहमति जुटाउने भन्ने सकस पर्ने देखिएको छ । मधेस प्रदेशको अध्यक्षमा राजजिशोर यादवदेखि चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव, विचारी यादव र सर्लाहीका राजनारायण साहलगायत आकाङ्क्षी देखिएका छन् ।
‘मधेसमा एमालेका नेतैपिच्छे गुट छन् । चुनाव भयो भने ती गुट मौलाउँछन् । त्यसैले सहमतिमै नेतृत्व छनोट गर्नुपर्छ भन्ने शीर्ष नेताको चाहाना र प्रयास देखिन्छ’, धनुषाका एक नेताले भने,‘तर सहमति कसका नाममा भन्ने अन्योल नै छ ।’ रातोपाटी संवाददाता