Loktantra Khabar National Weekly
Ad

एमाले मधेस प्रदेश अधिवेशन : यी हुन् अध्यक्षका आकाङ्क्षी

लोकतन्त्र खबर
२४ आश्विन २०८०

काठमाडौँ । प्रदेश अधिवेशनको अन्तिम चरणमा पुगेको नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार १२ बजेपछि जनकपुरमा उद्घाटन गर्ने अधिवेशनको बिहीबारदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका मधेस इन्चार्ज योगेश भट्टराईका अनुसार अधिवेशनमा एक हजार २१ जना प्रतिनिधिले पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्दै छन् । इन्चार्ज भट्टराईका अनुसार सर्वसम्मत नेतृत्व छनोटको प्रयास भइरहेको छ । सर्वसम्मतका लागि सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ ।

‘पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ’, भट्टराईको भनाइ छ । अर्का सचिव रघुवीर महासेठको गृह प्रदेश समेत हो मधेस प्रदेश ।

दुई दिनसम्म चल्ने अधिवेशनमा ६० हजार सदस्य मध्ये १ सय ३६ पालिका, २३ जनसङ्गठन, ८ प्रदेश विभागका सदस्यले चुनेको १ हजार २७ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।

नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।  यद्यपि उनीहरुले बाहिर भने केही बताइसकेका छैनन् । हालका प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने एमालेको निर्णयअनुसार यो प्रदेशबाट एमालेका अन्य नेताले अवसर पाउने अवस्था आएको हो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: