Loktantra Khabar National Weekly
Ad

कर्णाली प्रदेश अस्पताललाई १ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

लोकतन्त्र खबर
२२ आश्विन २०८०

सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने १ करोड भन्दा बढी मूल्यका मुटु रोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो।

प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई ब्याक टु लाइफ इ भी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलबाट हस्तान्तरण गरिएको हो ।

ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु जिल्ला र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरूमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

ब्याक टु लाइफका  निर्देशक डिकेन्द्र ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम,  ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरू हस्तान्तरण गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा उपस्थित संस्थाका प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले संस्थाले यस अघि पनि कोभिड १९ को उपचारको लागि आवश्यक पर्ने अति महत्त्वपूर्ण उपकरणहरू प्रदेश अस्पताल सुर्खेतलाई सहयोग गरेको स्मरण गराए ।

प्रदेश अस्पताल सुर्खेतले केही समय अघिबाट मात्र  मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको  थियो ।

ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले प्रदेश अस्पतालमा भर्खरै स्थापना भएको हृदयरोग विभागको दीगोपनाको लागि प्रदेश अस्पतालका ३ जना स्टाफलाई हालै प्रदान गरिएका उपकरणहरू सञ्चालन सम्बन्धी तालिम प्रदान गर्न संस्थाले सहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँसँग संयोजन र सहयोग गरेको बताए ।

अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरे । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: