Loktantra Khabar National Weekly
Ad

नेपाल भित्रियो अमेरिकन रेष्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

लोकतन्त्र खबर
१४ आश्विन २०८०

अमेरिकन रेष्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ।

गुल्मेली दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले दरबारमार्गको ‘दरबार मल’ मा अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई भित्र्याएका हुन्।

गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा उनीहरूले यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। जहाँबाट दरबारमार्गका गतिविधि समेत नियाल्न सकिन्छ।

केन्नी रोजर्सको स्टान्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करिब तीन करोड रुपैयाँ लगानी लागेको सञ्चालक थापाले बताए।

दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको रेष्टुरेन्टमा एकैपटक ७० जनासम्मले सेवा पाउन सक्छन्।

‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुरेन्टमा पुग्ने ग्राहकहरूले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महशुस गर्न सक्नेछन्। वुडन थिमले रेष्टुरेन्टलाई थप आकर्षक बनाएको छ।

चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्वसिइओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाइ व्राउन (जुनियर) ले सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए।

जुन अहिले विश्वभर फैलिएको छ। अहिले केन्नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आउटलेट विस्तार गरिरहेको छ। केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलो पटक भित्रिएको हो।

‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेष्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेष्टुरेन्टले फरक स्वादमा स्वस्थ्य परिकारहरू पस्कने थाहा पाइयो,’ रेष्टुरेन्टका सहसञ्चालक महतराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेष्टुरेन्ट धाउनेहरू बढ्दै छन्, त्यसैले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई नेपाल भित्र्याएका हौं।’

केन्नी रोजर्स रोस्टर्सको मुख्य डिस भनेकै चिकेनका आइटम हुन्।

रेष्टुरेन्टमा चिकेनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको महतराले बताए।

रेष्टुरेन्टका मुख्य परिकारहरूमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकेन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकेन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गरलगायत हुन्।

रेष्टुरेन्टमा पाहुनाले पारिवारिक वातावरणमा स्वादिला परिकारसँग रमाउन पाउने सहसञ्चालक थापाको भनाइ छ।

सञ्चालक महतारासँग ५ वर्ष विश्वकै चर्चित ताज मुम्बईमा सेफको काम गरेको अनुभव छ।

उनले दुई दशकभन्दा बढी समय आधा दर्जन बढी मुलुकमा बसेर अन्तर्राष्ट्रिय परिवहन गर्ने ठूला जहाजमा मुख्य सेफ भएर अनुभव हासिल गरेका छन्।

‘फुड एन्ड वेभरेज’मा आफ्नो अनुभव भएकाले अमेरिकी चेन रेष्टुरेन्ट फ्रेञ्चाइजी मोडलमा काठमाडौंमा सञ्चालनमा ल्याएको उनको भनाइ छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: