Loktantra Khabar National Weekly
Ad

इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट एडिट गर्न सकिने

लोकतन्त्र खबर
८ आश्विन २०८०

माइक्रो ब्लगिङ प्लाटर्फम एक्समा जस्तै अब इन्स्टाग्राम थ्रेड्समा पनि आफूले गरेका पोस्टहरु एडिट गर्न अर्थात् सम्पादन गर्न सकिनेछ ।

मेटाले छिटै नै थ्रेड्समा यो बहुप्रतिक्षित फिचर पेस गर्न लागेको हो । थ्रेडसमा कुनै पनि पोस्ट गरेको पाँच मिनेटभित्रमा एडिट गर्न सकिने सुविधासहित यो फिचर उपलब्ध हुने बताइएको छ ।

स्मरण रहोस् एक्समा पोस्ट गरेको एक घण्टाभित्र सम्पादन गर्न सकिन्छ । तर यो सुविधा केवल सशुल्क प्रयोगकर्ता अर्थात् प्रिमियम सदस्यका लागि मात्रै उपलब्ध छ जोसँग ब्लू टिक हुन्छ ।

तर, मेटाले भने सबै थ्रेड्स प्रयोगकर्ताका लागि नि:शुल्क रुपमा पोस्ट एडिट गर्न सकिने सुविधा उपलब्ध गराउन लागेको हो ।

यो फिचर हाल विकासकै चरणमा रहेको प्रविधिसम्बन्धी विभिन्न समाचारको खुलासा गर्ने एलेसेन्ड्रो पलुजीले एक स्क्रिनशट शेयर गर्दै बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुसँग कुनै पनि थ्रेड्स पोस्ट गरेको ५ मिनेटभित्रमा सो पोस्टलाई एडिट गर्ने समय रहनेछ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसअघि नै थ्रेड्सका लागि विभिन्न नयाँ सुविधाहरु थप गर्ने बताइसकेका छन् जसमा पोस्ट एडिट गर्नेलगायतका फिचर हुनेछन् । यद्यपि यो फिचर कुन मितिमा लञ्च गर्ने भन्ने चाहिं मेटाले खुलाएको छैन ।

साथै मेटाले प्रयोगकर्ताहरुलाई आफ्नो इन्स्टाग्राम अकाउन्टलाई असर नपारीकनै थ्रेड्स प्रोफाइललाई डिलिट गर्न सकिने फिचर पनि ल्याउन लागेको बताइएको छ ।

पलुजीका अनुसार थ्रेड्स प्रोफाइल हटाएपछि इन्स्टाग्राम अकाउन्टबाट पुनः थ्रेड्स अकाउन्ट बनाउनका लागि प्रयोगकर्ताले ४ महिनासम्म पर्खिनुपर्नेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: