Loktantra Khabar National Weekly
Ad

एलन मस्कसँग किन रिसायो ताइवान ?

लोकतन्त्र खबर
२ आश्विन २०८०

टेस्ला, स्पेस एक्स, तथा एक्स (ट्वीटर)का मालिक अर्बपति एलन मस्क आफ्ना भनाइ तथा कामहरुका कारण निरन्तर चर्चा र विवादमा आइरहेका हुन्छन् ।

पछिल्लोपटक ताइवानसम्बन्धी उनको अभिव्यक्ति निकै विवादास्पद बनिरहेको छ र स्वयं ताइवानले नै कडा टिप्पणी गरेको छ ।

मस्कले ताइवान टापु चीनको एउटा हिस्सा भएको भन्ने अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै ताइवानले आफु बिक्रीमा नभएको जवाफ दिएको छ ।

ताइवानी विदेश मन्त्री जोसेफ ऊ ले सोसल साइट एक्समा लेखेका छन् : सुन्नुहोस् ताइवान जनगणतन्त्र चीनको हिस्सा होइन र यो निश्चित रुपमा बिक्रीमा पनि राखिएको छैन ।

हालै एक व्यवसाय सम्मेलनका क्रममा मस्कले ताइवानलाई हवाई टापुसँग तुलना गर्दै ताइवान चीनको अभिन्न हिस्सा रहेको बताएका थिए ।

स्वशासित मुलुकको रुपमा ताइवानमाथि चीनले आफ्नो दाबी गर्दै आएको छ र पछिल्ला वर्षहरुमा चीन र ताइवानबीचको तनाव बढिरहेको अवस्था छ ।

हालै चीनले ताइवान नजिकै हवाई तथा जलसैनिकको अभ्यास गरेको थियो । आफ्नो सामुद्रिक क्षेत्रमा १० वटा चिनियाँ पानी जहाज प्रवेश गर्नुका साथै त्यसको आकाशमा ४० वटा चिनियाँ सैनिक जहाज देखिएको ताइवानले जनाएको छ ।

चीनमा आफ्नो व्यवसायिक स्वार्थ गाँसिएका एलन मस्कले आफ्नो अभिव्यक्तिका कारण ताइवानलाई चिढ्याएको यो पहिलोपटक भने होइन । गत वर्षको अक्टोबरमा उनले बेइजिङ र ताइपेइबीचको तनाव कम गर्नका लागि चीनलाई ताइवानमाथि केही हदसम्मको नियन्त्रण प्रदान गर्नुपर्ने बताएका थिए ।

फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा उनले दुई देशहरु तार्किक तथा स्वीकार्य सम्झौतामा पुग्नसक्ने बताएका थिए । मस्कको अभिव्यक्तिको अमेरिकाका लागि चिनिया राजदूतले प्रसंसा गरेका थिए । तर उनका ताइवानी समकक्षीले भने कडा प्रतिरोध गर्दै ताइवानको स्वतन्त्रता बिक्रीमा नरहेको जवाफ दिएका थिए ।

मस्कको अभिव्यक्तिका सम्बन्धमा ताइवानी विदेशमन्त्री ऊ ले एक्स (ट्वीटर) लेखेका छन् : मलाई आशा छ एलन मस्कले चीनका जनतालाई सोसल साइट एक्स प्रयोग गर्न दिनका लागि चिनिया कम्युनिष्ट पार्टीलाई अनुरोध गर्नेछन् ।

स्मरण रहोस् माइक्रो ब्लगिङ साइट एक्स चीनमा प्रतिबन्धित छ ।

एलन मस्कको कार कम्पनी टेस्लाको ठूलो निर्माण कारखाना चीनको सांघाइमा रहेको छ । उनले गत मे महिनामा चीनको भ्रमण गरी उच्च चिनिया अधिकारीहरुसँग भेट गरेका थिए ।

अमेरिका र चीनबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा बिग्रिहेको बेला एलन मस्कको चीन भ्रमण निकै ठूलो चर्चाको विषय बनेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: