Loktantra Khabar National Weekly
Ad

चामलको बोरामा लुकाएर लागू औषधि तस्करी

लोकतन्त्र खबर
३१ भाद्र २०८०

नयाँ नयाँ शैली अपनाएर भारतबाट नेपालमा लागू औषधि भित्र्याउने गरेको रहस्य खुलेको छ ।

शनिबार यात्रु बोक्ने टेम्पुमा लोड गरिएको चामलको बोराबाट ठूलो परिमाणमा लागू औषधि बरामद भएपछि सो तथ्य बाहिर आएको छ । प्रहरी टोलीले भारतीय सीमासँग जोडिएको सप्तरीको बलान बिहुल गाउँपालिका १ मल्हनियाँ सडकखण्डमा चेकजाँचको क्रममा स.१ ह. ३६८६ नम्बरको टेम्पुबाट ठूलो परिमाणमा लागू औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

टेम्पुमा लोड गरिएको दुई वटा शिवम् सिमेन्ट लेखिएको बोरा भित्र चामलसँगै प्लास्टिकको कालो झोलामा लुकाइ राखिएको अवस्थामा प्रहरीले १ हजार १ सय ७५ थान फेनारगन, डाइजेपाम र ब्रुफेनरापिन एम्पुल र ट्याब्लेट गरी ३ हजार ५ सय २५ वटा लागू औषधि बरामद गरेको उनले बताए । तस्करले सुरक्षा जाँच छल्न चामलको बोरामा प्याक गरेर उक्त लागू औषधि लुकाएको प्रहरीको भनाइ छ ।

लागू औषधि ओसारपोसार गर्ने टेम्पु चालक बलान बिहुल गाउँपालिका ३ का ३० वर्षीय राजेन्द्र राम र उनकै बयानका आधारमा पक्राउ परेका बलान बिहुल गाउँपालिका २ का हरिहर कुमार यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । “तस्करहरुले नयाँ नयाँ शैली अपनाउन थालेका छन्, प्रहरी उपरीक्षक कार्कीले भने– सोही अनुसार हाम्रो पनि निगरानी र रणनीति बन्ने गरेको छ ।” अधिकांश आपराधिक घटना लागू औषधि र मदिराका कारण हुने भएकाले यसको रोकथाम र नियन्त्रणमा कडाइ गर्दै लगिएको उनको भनाइ छ ।

पक्राउ परेका राम र यादवलाई लागू औषधि नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढइने उनले जनाए । नेपालमा प्रतिबन्धित रहेका लागू औषधि भारतीय बजारमा खुलेआम बिक्री हुने भएकाले लागू औषधि कारोबारी र यसका कुलतमा फसेकाहरु विभिन्न जुक्ति निकाल्दै लुकाइ छिपाइ नेपाल ल्याउने गरेको प्रहरीको भनाइ छ । जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: