Loktantra Khabar National Weekly
Ad

चिकित्सक कुटपिट प्रकरण: सन्चो अस्पतालका डाक्टरसहित ७८ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लोकतन्त्र खबर
२९ भाद्र २०८०

हेटौँडा । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै हेटौँडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले शुक्रबारबाट हेटौँडा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेका छन् । हेटौँडा अस्पतालको ओपीडी सेवा बन्द छ ।

अस्पतालमा चिकित्सकहरूलाई काम गर्ने वातावरण नभएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले राजीनामा बुझाएको हेटौँडा अस्पतालका चिकित्सक तथा नेपाल चिकित्सक संघ मकवानपुरका प्रस्तावित अध्यक्ष डाक्टर हरि खड्काले जानकारी दिए ।

घटनामा संलग्न सबैलाई कारबाही नगरेसम्म हेटौँडा अस्पतालको आकस्मिक बाहेकका सबै बन्द गर्ने उनले बताए । डेङ्‍गी सङ्क्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केही युवाको समूहले बुधबार हेटौँडाको सन्चो अस्पतालका डाक्टर थापा र विडारीलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

लगातार चिकित्सकहरूको दबाबपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान तथा भतिज अनुप प्रधानलाई बिहीबार पक्राउ गरेको छ । खरीबोट

प्रतिक्रिया दिनुहोस्: