Loktantra Khabar National Weekly
Ad

‘माइस’ पर्यटन गन्तव्य बनाउने तयारीमा होटल संघ

लोकतन्त्र खबर
२८ भाद्र २०८०

होटल संघ नेपालले मेला, सभा/सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना बनाउने भएको छ।

यसका लागि संघले आगामी आइतबार (भदौ ३१) काठमाडौंमा सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ।

संघको वार्षिक कार्ययोजनाभित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल ‘माइस’ पर्यटनको लागि उपयुक्त गन्तव्यको रूपमा स्थापना गर्न सघाउ पुर्‍याउने छ।

प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको संघले जनाएको छ।

नेपालले विश्वको व्यापारीक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरूले उपयुक्त कार्यनीति तयार गर्नेछन्।

संघका अधयक्ष विनायक शाहका अनुसार अन्तर्राष्ट्रिय स्तरको मेला, सभा/सम्मेलनसँगै व्यापार व्यवसायको प्रवर्द्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ।

छिमेकको भारत लगायतका देशहरूबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरू र उनीहरूको परिवारका सदस्यहरू नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पुग्ने उनले बताए।

‘यस्ता मेला, सभा/सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ,’ उनले भने, ‘यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका लागि कार्यक्रमहरूको आवश्यकता छ।’

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्बद्ध सरकारी अधिकारीहरू, विज्ञहरू, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरू र  सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: