Loktantra Khabar National Weekly
Ad

दीपक–दीपाको सिनेमा हल बुधबारबाट सञ्चालनमा आउँदै

लोकतन्त्र खबर
२२ भाद्र २०८०

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आउँदो हप्ताबाट सञ्चालनमा आउने भएको छ । बुधबारबाट हल सञ्चालनमा ल्याउने तयारी भइरहेको कलाकारसमेत रहेका दीपकराज गिरीले जानकारी दिए ।

“आउँदो बुधबारबाट सिनेमा हल सञ्चालनमा आउनेछ । भदौ २१ गतेबाट सञ्चालनमा ल्याउने भनिए पनि काम नसकिएकाले त्यो सम्भव भएन,” दीपकराज गिरीले बाह्रखरीसँग भने, “अब आउँदो बुधबारबाट हल सञ्चालनमा आउनेछ । त्यहीअनुसार अन्तिम तयारी भइरहेको छ ।”

हलको काम सकिए पनि लबीको काम भइरहेको दीपकले जानकारी दिए । नेपाली सिनेमाबाटै हल उद्घाटन गर्ने उनले दोहोर्‍याए ।

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ ।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।  बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: