
सुनिल ठाकुर/मलंगवा
साउन २२ गते । अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध सर्लाही सदरमुकाम मलंगवामा सोमवार विरोध प्रदर्शन गरिएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सर्लाही र नेपाल मगर संघ जिल्ला समन्वय समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
एउटा टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजु बहिनी बीचमा विवाह हुने र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै मानिस भैंसी र ब्राखा भन्दा पनि तुच्छ हुने भनि दिएको अभिव्यक्ति विरुद्ध तामाङ र मगर समुदाय आन्दोलित बनेका छन् ।
सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यास माथि गलत ढंगले व्याख्या गर्नुका साथै भ्रामक र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई तुरुन्त पक्राउ गरि कारबाही गर्नु पर्ने माग राख्दै उनीहरु आन्दोलित बनेका छन् ।
आन्दोलित बनेका तामाङ र मगर समुदाय सदरमुकाम मलंगवाको शहिद चौक परिक्रम गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत ३ सुत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
आन्दोलनरत समुदायले बुझाएको ज्ञापन पत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम हदै सम्म सजाय दिइयोस् ।
शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरु राखिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौका वरिष्ठ प्रहरी उपरीक्षक दान बहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कारबाही गरियोस् र गत साउन १७ गतेको आन्दोलनमा प्रहरीको यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपूर्ती दिइयोस् भनि उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाएपछि आन्दोलित बनेका समुदाय कोण सभा समेत गरेका थिए । कोणसभालाई सम्बोधन गर्ने क्रममा नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बुद्ध लामाले अधिवक्ता पाण्डेलाई तुरुन्त पक्राउ गरि कडा कारबाहीको माग गरेका छन् । पाण्डेलाई पक्राउ गरि कारबाही गरिएन भने सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: