४ पुस, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।
दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।
अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।