Loktantra Khabar National Weekly
Ad

रास्वपामा स्वेच्छिक शुल्क तिरेर सदस्य बन्न पाइने

लोकतन्त्र खबर
२५ पुष २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो।

रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेकोमा अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने प्रबन्ध गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त प्रतिक्रिया, सुझावहरुलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी गर्नुपर्ने भन्ने सुझावलाई मनन गरी सदस्यता त्यसमा थपेर वा घटाएर स्वेच्छिक सदस्यता शुल्क तिरेर पनि सदस्यता लिन सक्ने व्यवस्था गरियोे,’ महामन्त्री ढकालले भने।

त्यस्तै पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरिएको उनले बताए।

यस्तै सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गर्ने निर्णय गरिएको उनले बताए।

पार्टी केन्द्रीय निर्वाचन आयोगमा तीन जना सदस्य पनि थप गरिएको महामन्त्री ढकालले जानकारी दिए।

भूमिनन्द बराल आयोगको सचिव छन्। त्यस्तै, अतिन्द्र दाहाल, राम गुरुङ, सुमित्रा पण्डित क्षेत्री सदस्य थपिएको प्रवक्ता ढकालले बताएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: