Loktantra Khabar National Weekly
Ad

रिलायन्स स्पिनिङको महसुल विवादमा अदालतले दिएन अन्तरिम आदेश

लोकतन्त्र खबर
२३ पुष २०८०

काठमाडौं  पुस २३, जिल्ला अदालत सुनसरीले विद्युत महसुल नतिरेका कारण लाइन काटिएको एक उद्योगमा ‘बिजुली जोडिदिनू’ भनी आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश टेकबहादुर कार्कीको इजलासले रिलायन्स स्पिनिङ मिलमा विद्युत जोडिदिनू भनी अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो ।

प्राधिकरणले लाइन काटिदिएकाले आफू मर्कामा परेकाले ‘बिजुली जोडिदिनु’ भनी आदेशको माग राख्दै रिलायन्स स्पिनिङ मिल जिल्ला अदालत, सुनसरीमा गएको थियो ।

उच्च अदालतले समेत यो विषयमा अन्तरिम आदेश नदिएको अनि प्राधिकरण सञ्चालक समितिले समेत ६० किस्तामा महसुल बुझाउने सुविधा दिएको भन्दै जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

यसअघि जिल्ला अदालतले नै १५ असोज २०७८ मा विद्युत नकाट्नू भनी आदेश दिएको थियो । १६ मंसिर, २०७८ मा उच्च अदालत विराटनगरले त्यो आदेशलाई खारेज गरिदियो ।

लामो समय विवाद कायमै रहेको अवस्थामा पछिल्लो समय प्राधिकरणले ६ पुसमा रिलायन्स स्पिनिङ मिलको विद्युत आपूर्ति काटिदिएको थियो ।

उसले प्राधिकरणलाई एक अर्ब ७१ करोड रुपैयाँ तिर्न बाँकी रहेको र त्यसमध्येको पहिलो किस्ता तिरेमा विद्युत जोडिदिने भन्ने प्राधिकरणको निर्णय देखिएको भन्दै जिल्ला अदालतले अन्तरकालीन आदेश जारी नगरेको हो ।

जिल्ला अदालतले आइतबार गरेको आदेशमा भनिएको छ, ‘समितिको १६ कात्तिक २०८० को निर्णय देखिदा लाइन काटिसकेको अवस्थामा अन्तरकालीन आदेश जारी गर्न मिलेन । नियमानुसार गर्नू ।’

लोडसेडिङको बेलामा जोडिएको डेडिकेटेड र ट्रंक लाइनको अतिरिक्त शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले केही उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्न शुरु गरेको छ ।

प्राधिकरणबाट जारी भएको बिलमा समयमा आधारित खपत (टीओडी) विवरण नपाएको भन्दै उद्योगीहरुले महसुल तिर्न अस्वीकार गरेका छन् । यो विवादमा उद्योगी/व्यवसायी र प्राधिकरण नेतृत्वले एक अर्कामाथि आरोप लगाइरहेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: