मनोज यादव—-
सर्लाही,पुस ८
तराईका ग्रामीण भेगमा पानिको मुख्य श्रोतको रुपमा रहेको इनारहरु लोपहुँदै गइरहेको छ। खानेपानी तथा अन्य प्रयोजनका लागि बनाइएका इनारहरू अहिले पुरिंदै गएका छन् ।
बिगत २-३ दशक अगाडीसम्म पानी पिउन, नुहाउन, भाँडाबर्तन र लुगा कपडा धुन,बस्तुभाउलाई पानी खुवाउन लगायतका दैनिक प्रयोजनको लागि इनारको पानी प्रयोग गर्ने चलन थियो ।
सर्वसाधारणहरु विवाह तथा विभिन्न चाडबाडहरुमा इनारको पूजापाठ गर्नुका साथै किसानले उत्पादन गरेको अन्नलाई सबैभन्दा पहिले इनारमा चढाउने परम्परा रहेको स्थानीय कलशिया देवी राउतले बताइन । इनारमा देवी देवताको बास रहेको भन्ने धार्मिक मान्यताको आधारमा यसको संरक्षण गर्न आवश्यक रहेको उनले भनिन्।
विगतमा गाउँघरका हरेक टोल तथा मठमन्दिरमा कम्तीमा एउटा भएपनि इनार निर्माण भएकै हुन्थ्यो । टोलभरीका मानिसहरु एकआपसमा मिलेर यसको प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।
पछिल्लो समय गाउँगाउँमा हैण्ड पाइप(चापाकल) र धारा जडान गर्ने चलन बढेकोले पनि इनारहरु लोप हुँदै गइरहेको देखिन्छ । पहिला त गाउँ पिच्छे ८ देखि १० वटासम्म इनारहरु हुने गर्थे तर अहिले भने अधिकांश इनारहरु पुरिसकेका छन् ।
बाँकी रहेका इनारहरु भत्किएर फोहर फाल्ने कन्टेनरमा परिणत भइसकेका छन् । केही महिना अगाडी हैण्ड पाइप सुकेर तराईका जिल्लाहरुमा पानीको हाहाकार हुँदा इनारकै पानीले काम चलाउनु परेको मलंगवा नगरपालिका वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालले बताए ।
आजभन्दा २-३ दशक अगाडी निजी रुपमा निर्माण गरिएका इनारले आर्थिक सम्पन्नता पनि झल्काउने गर्थ्यो । तर अहिले भने तिनै ब्यक्तिहरु इनारलाई पुरेर त्यहाँ अन्य भौतिक संरचनाहरु ठड्याउन थालेका छन् ।
इनारसँग हिन्दू धर्मावलम्बीको आस्था जोडिएको हुँदा यसको संरक्षण गर्नु पर्ने पुरानो पुस्ताको भनाइ छ। कतिपय पुराना इनारहरुमा ऐतिहासिक शिलालेखसमेत रहेकोले यसको संरक्षणमा स्थानीय तहले ध्यान दिन जरुरी छ।

