Loktantra Khabar National Weekly
Ad

प्रदेश सभासद शर्मा समेत ७ जनालाई थमन बिक मुद्दामा जन्मकैद

लोकतन्त्र खबर
२९ मंसिर २०८०

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन बिकको हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाई दिएको छ ।

सांसद कोइरी केही महिनादेखि फरारको सूचीमा रहेका थिए । सांसद महतोसँगै पवन कापडलाई पनि अदालतले सफाई दिएको छ । महतो फरार रहे पनि कापड भने थुनामा रहेका थिए ।

जिल्ला अदालतले सो मुद्दामा मधेश प्रदेशका सभासद एवं पूर्व राज्यमन्त्री अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । उच्च अदालतबाट उनी साधारण तारेखमा रहेका थिए ।

जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र कापडलाई सफाई दिए पनि शर्मा र जलेश्वर नगरपालिकाका पूर्व मेयर शंकर शाही भन्ने रामाशंकर मिश्र, प्रदीप साह, सञ्जय कुमार साह, मोहन ठाकुर, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको सजाय सुनाएको छ ।

सो मुद्दामा प्रदीप साह र सञ्जय कुमार साह थुनामै रहेका छन् । सो मुद्दाका अन्य अभियुक्तहरु मध्ये पूर्व सभासद कौशल कुमार यादव सहित फरार सूचीमा रहेका छन् । सफाई पाएका सांसद एमालेबाट महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद छन् । उनी फरार भएपछि प्रतिनिधि सभा सचिवालयले निलम्बन गरेको थियो ।

जन्मकैदको सजाय पाएका प्रदेश सभासद शर्मा भने अब पदमुक्त हुने कानुनविदहरुले जनाएका छन् । उनी दोस्रो कार्यकाल पनि महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित भएका छन् । सजाय पाउनेहरुमा अधिकांश लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता छन् ।

प्रतिक्रिया दिनुहोस्: