Loktantra Khabar National Weekly
Ad

सामाजिक सञ्जालमा अड्केर नबस्नुस्, चुनाव प्रचारका लागि घर–घर जानुस् : गगन थापा

लोकतन्त्र खबर
१५ फाल्गुन २०८२

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् । रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् । ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस्,’ सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’ थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।

‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस्–भन्नुस्– यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’ कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे । ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’

सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि भने । ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’ सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसार भर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा ताकत बनाउनुपर्ने छ,’ उनले भने । सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । ‘मेरो सबैलाई आग्रह छ । नेपाली कांग्रेसको तलबाट काम गर्दै गर्दै यो ठाउँसम्म हामी आइपुगेका छौं,’ उनले भने, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौं भनेर माटोमा खुट्टा जमाएर बसेका हौं ।’ सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: