बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन् । उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि मंगलबार रिहाईको कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिर आएका हुन् । जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि लागेका सबै आरोपको जवाफ दिने बताएका छन् । उनले अदालतलाई धन्यवाद दिँदै आफ्नो कठिन समयमा साथ दिने समर्थकहरूप्रति आभार व्यक्त गरे। राजपालले सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। तर फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन् ।
ऋण लिने क्रममा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। यसअघि दुवै पक्षबिच सम्झौता भए पनि रकम भुक्तानी हुन सकेको थिएन, जसले गर्दा ब्याजसहित ऋणको भार थपिएको थियो । यही मुद्दामा सन् २०१८ मा दिल्लीको कडकडडुमा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो । सोही आदेश बमोजिम उनले गत फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । सन् २०२७ मा बलिउड यात्राको ३० वर्ष पूरा गर्न लागेका राजपालले आगामी दिनमा आफ्ना कानुनी समस्याहरू सुल्झाउँदै काममा फर्किने विश्वास दिलाएका छन् । सौजन्य यात्रा डेली

