मलंगवा, १७ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर हिजो काठमाडौं फर्किएका छन् । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर गएसाँझ जनकपुर हुँदै काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र नं. ४ को बलरा, गोडैता, विष्णु, रामनगर, धनकौल, बसबरिया र बरहथवामा आयोजित एक दर्जन बढी अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गरे ।
पाँच दिनसम्म आफ्नो चुनाव क्षेत्रमा बसेका थापाले केही निर्वाचित वडाध्यक्ष, प्रदेश सभा सदस्यका प्रत्यासी र अन्य नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । थापा आफू तीन पटक निर्वाचिन काठमाडौं ४ छाडेर यो पटक कोर मधेशमा पर्ने सर्लाही ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न आइपुगेका छन् ।
थापाले काठमाडौं फर्किनुअघि हिजो दिउँसो सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू उम्मेदवारी दर्तापछि सर्लाही आउँदै गर्दा मनमा अनेक दुविधा बोकेर आए पनि अहिले फर्किने बेला उत्साहित भएर फर्किएको प्रतिक्रिया दिएका छन् । पाँच दिनसम्म दर्जन बढी कार्यक्रमलाई सम्वोधन गरेका थापाले प्रायः कार्यक्रममा फागुन २१ पछि पाँच वर्षसम्मका लागि देशको सम्हाल्ने जिम्मेवारी कांग्रेसमा आउन लागेको बताए ।
नेपाली कांग्रेसबाट भावि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा समेत अघि सारिएका थापाले सर्लाही ४ का जनताको सेवक भएर काम गर्ने वचन दिएका छन् । थापाले आफू पार्टी सभापति भएकाले केही दिन देशदौडाहमा निस्कनुपर्ने बाध्यत्मक अवस्थाले सर्लाही छाडे पनि घरदैलोको लागि पुनः फर्किएर आउने बताएका छन् । थापाले यहाँ पाँच दिनसम्म रहँदा आफ्ना सम्वोधनमा कुनै नेता तथा पार्टीप्रति आक्रोश तथा गाली व्यक्त गरेनन् । बरु उनले पिछडिएको सर्लाही ४ मा कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा के–के काम गर्न सकिन्छ भनेर आफूले अध्ययनका लागि टोली खटाइसकेको बताए । सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति थापा तीन पटक लगातार चुनाव जितिसकेका डा. अमरेशकुमार सिंहसहित ३८ जनासँग प्रतिस्पर्धामा रहेका छन् । सौजन्य उज्यालो अभियान

