Loktantra Khabar National Weekly
Ad

पूर्वगृहमन्त्री विमला अन्सारीको पहलमा खुटौना र अगर्वामा शुद्ध पिउने पानीका लागि बायोसेन्ड फिल्टर हस्तान्तरण

लोकतन्त्र खबर
१८ श्रावण २०८२

लोकतन्त्र समाचारदाता
सर्लाही, साउन १७ सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौना र कविलासी नगरपालिका–८ अगर्वा स्थित सशस्त्र प्रहरी क्याम्पमा शुद्ध पिउने पानीको दीर्घकालीन समाधान स्वरूप बायोसेन्ड फिल्टर प्रणाली हस्तान्तरण गरिएको छ। हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक सहयोग तथा स्थानीय समाज विकास केन्द्रको सहजीकरणमा उक्त प्रणाली हस्तान्तरण गरिएको हो।

अगर्वा सशस्त्र प्रहरी क्याम्पमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा मधेस प्रदेशसभा सदस्य विमला अन्सारीको उपस्थिति थियो। कार्यक्रममा कबिलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण, हेल्पिङ ह्यान्ड नेपालका को–अर्डिनेटर जिवा पोखरेल, कोषाध्यक्ष रेविका न्यौपाने, सल्लाहकार अर्जुन थापा, फिल्ड अफिसर वसिम अन्सारी, सशस्त्र प्रहरी बलका एसपीसहित सम्पूर्ण सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

 

यसैगरी, खुटौनास्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम कैलाश यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।

मधेश प्रदेशमा लगातार वर्षा नहुनु, भूमिगत जलस्रोत सुक्खा हुनु र उच्च तापक्रमका कारण पानीको चरम अभाव रहेको वर्तमान अवस्थामा पूर्वगृहमन्त्री अन्सारीको पहलमा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गर्न बायोसेन्ड फिल्टर जडान गरिएको आयोजक संस्थाले जनाएको छ।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो सहयोगले केवल स्वास्थ्य सुरक्षामा मात्र नभई स्थानीय समुदायमा राहतको अनुभूति समेत दिलाएको उल्लेख गरे। जनस्वास्थ्य संरक्षण र दीगो विकासतर्फ उन्मुख यस्तो प्रयासले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: