मनोज यादव—
सर्लाही,बैशाख २५
सर्लाहीका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आम जनता पार्टी (आजपा)को नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आजपा जिल्ला कमिटी सर्लाहीले सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवाका प्रजिअ कोमल प्रसाद धमला मार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन ।
शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नुपर्ने,विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने,जनताको मौलिक हक विपरीतका सबै शुल्कहरुको अन्त्य गरी वार्षिक पोसाक र दैनिक दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित एवं सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियतलाई कडाइका साथ लागू गर्नुपर्ने तथा सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा पढाइको नाममा विद्यार्थीसँग उठाउने विभिन्न शुल्कहरु लिनबाट रोक्नुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएका छन् ।
ज्ञापनपत्र बुझाउन अघि आजपा का कार्यकर्ता तथा विद्यार्थीहरु विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर लगायतका नाराहरु सहित र्याली गरि जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडी केही बेर प्रदर्शन समेत गरेका थिए।
४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको आजपा का प्रवक्ता चन्द्रभुषण साहले बताए ।
आज वैशाख २४ गते जि.प्र.का.मा ज्ञापन पत्र बुझाइसके पश्चात् बैशाख २५ देखि ३० गतेसम्म जिल्लामा अपुग दरबन्दी पूर्ति गराउन संघर्ष समिति गठन गर्ने , बैशाख ३० गतेसम्म अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गर्ने, जेष्ठ १५ गते जिल्ला शिक्षा समन्वय ईकाई समिति घेराउ गर्ने र जेष्ठ २० गते शिक्षा विभाग घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेको आजपा जिल्ला कमिटी सर्लाहीले जानकारी गराएको छ।

