डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका एक जना सैनिकको मृत्यु भएको छ।
ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो।
उक्त डढेलो निभाउन गएका जुम्लाका सैनिक जवान हेमन्त रावतको सोमबार साँझ मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।
डढेलोमा परी रावतसहित २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका थिए।
रावतको जिल्ला अस्पताल डोल्पामै मृत्यु भएको प्रजिअ दाहालले बताए।
‘डढेलोमा परी चार जना घाइते हुनुभएको थियो। दुई जनालाई सोमबारै नेपालगञ्ज पठाइएकामा थप उपचारका लागि काठमाडौं लगिसकिएको छ। दुई जना डोल्पा अस्पतालमै रहनुभएकोमा एक जनाको सोमबार राति निधन भयो,’ प्रजिअ दाहालले सेतोपाटीसँग भने, ‘अर्का गम्भीर घाइतेलाई पनि उपचारका लागि काठमाडौं पठाइएको छ।’
सैनिक ब्यारेक र विद्यालयको बीचबाट आगो फैलिएकोले उग्ररूप लिएको उनले बताए। यद्यपि डढेलो कहाँबाट सल्कियो भनेर पत्ता लागिनसकेको उनले बताए।
‘सैनिक ब्यारेक र विद्यालयको बीचबाट डढेलो सुरू भएको देखिन्छ। फोहोर जलाउँदा आगो फैलिएको हुनसक्ने पनि बताइएको छ। यसबारे मैले बुझिरहेको छु,’ उनले भने, ‘तीव्र हावाहुरीका कारण डढेलो एकैपटक वन क्षेत्रमा प्रवेश गर्यो।’
अक्करे भीरमा फैलिइरहेको डढेलो अहिले पनि नियन्त्रणमा आइसकेको छैन। आगो बस्तीतिर आउन भने रोकेको उनले बताए। सेतोपाटी

