Loktantra Khabar National Weekly
Ad

घरपैंचोमा विवाद हुँदा हत्या, प्रतिवादी १६ वर्षपछि पक्राउ

लोकतन्त्र खबर
७ चैत्र २०८०

विराटनगर चैत ७ ,घरपैंचोमा भएको विवादका क्रममा हत्या गरी जंगलमा शव गाडेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा एक पुरुषको हत्या गरी शव गाडेको घटनामा संलग्न तीन जनालाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रमितेका ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय गंगा भनिने ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राई रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । उनीहरूलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार साविकको रमिते गाविस–४ (हाल मिक्लाजुङ १) का ३८ वर्षीय सन्तोष राईको १६ वर्षअघि हत्यापछि नजिकैको जंगलमा शव गाडिएको थियो ।

२० जेठ २०६४ मा हर्कराज राईको घरपैंचोमा जम्मा भएका स्थानीयबासीबीच विवाद भएपछि सन्तोषको हत्या भएको थियो । हत्यापछि केमुना भञ्ज्याङको जंगलमा गाडिएको शव प्रहरीले उत्खनन् गरेको थियो ।

घटनामा संलग्न रहेको दाबीसहित प्रहरीले ११ जनालाई प्रतिवादी बनाएको थियो । जिल्ला अदालत मोरङले १८ फागुन २०७७ मा प्रतिवादीमध्ये ५ जनालाई जन्मकैद, ३ जनालाई जनही ५ वर्ष कैद र ३ जनालाई सफाइको फैसला गरेको थियो ।

जन्मकैदको फैसला सुनाइएकामध्ये ३ जना सोमबार र मंगलबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार १ जना प्रतिवादीको मृत्यु भइसकेको छ । अर्का १ प्रतिवादी विदेशमा छन् ।

गाउँघरमै बसिरहेका जीतबहादुर र ज्ञानबहादुर सोमबार राति पक्राउ परेका थिए । लक्ष्मणलाई झापाको काँकडभिट्टाबाट मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जीतबहादुर र ज्ञानबहादुर पक्राउ परेको खबर पाएपछि भाग्दै गरेका लक्ष्मण काँकडभिट्टाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरू सजाय भुक्तानका लागि कारागार चलान भएका छन् ।

५ वर्ष कैद सजाय सुनाइएकामध्ये गत २ मंसिरमा ५० वर्षीय धनकुमार राई र ५ मंसिरमा ७० वर्षीय देवीप्रसाद राई पक्राउ परेका थिए । अर्का एक जना फरार छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: