Loktantra Khabar National Weekly
Ad

प्राङ्गारिक मलको प्रमुख श्रोत गाईबस्तुको गोबर गुइँठा बनाउनमा प्रयोग

लोकतन्त्र खबर
३० फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,फाल्गुन ३०

तराई मधेसका अधिकांश किसानहरु प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरलाई गुइँठा बनाउने काममा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्वको परिपूर्ति हुन नसकी जमिनको उर्वराशक्ति ह्रास हुँदै गइरहेको छ।

गाईबस्तुको गोबरबाट बनाइएका गुइँठालाई यहाँका कृषकहरूले खाना पकाउने ऊर्जाको रुपमा प्रयोग गर्ने गरेका छन् ।

गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १३ वटा तत्त्व रहेको हुन्छ। त्यसैले प्राङ्गारिक तरिकाबाट बनाइएका मल तथा बजारमा पाइने रासायनिक मलको सट्टामा गाईबस्तुको मलमूत्र खेतबारीमा हाल्दा माटोको उर्वराशक्तिमा बढी वृद्धि हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले बताए ।

गोबरबाट गुइँठा बनाउनुको सट्टा खेतवारीमा हाले उत्पादनमा वृद्धि भई बढी लाभ लिन सकिने प्रमुख यादवले भने ।

तर यहाँका किसानहरु गोबरलाई प्राङगारिक मल बनाएर प्रयोग गर्न रुची नदेखाएकाले उनीहरूलाई बजारमा पाइने रासायनिक मलमा पूर्ण आश्रित बन्नु परेको छ।

धान, गहुँलगायत बालीको उत्पादन बढाउन यहाँका किसानहरु युरिया र डिएपी मल प्रयोग गर्ने गरेका छन् ।

तर ती रासायनिक मलले तत्काल उब्जनी बढाए पनि माटोको उर्वराशक्तिमा भने ह्रास आउँदै जाने प्रमुख यादवले बताए ।

माटोको उर्वराशक्ति बढाउन गोबर बढी उपयोगी भएकोले धरै भन्दा धेरै गाईबस्तु पालन गर्न उनले किसानहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: