नेपाल र क्यानडाबीच भएको द्विपक्षीय क्रिकेट सिरिजको टिकट बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
माघ २५ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको टिकट बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) सँग टिकट बिक्रीका लागि दुई वर्ष सम्मको करार सम्झौता गर्दै आएको भन्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका नविन श्रेष्ठले दुई जनाविरूद्ध जाहेरी दिएका थिए।
प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी परेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट बस्ने २२ वर्षीय आशिष खड्का र ललितपुर महानगरपालिका-२ सानेपा डेरा बस्ने ३३ वर्षीय दिपेन्द्रकुमार योञ्जन लामा छन्।
आइएमईले अनलाइनमार्फत् प्रतिव्यक्ति टिकट दुई सय रुपैयाँ र प्रत्यक्ष रूपमा उपस्थित हुनेलाई ३ सय रुपैयाँका दरले टिकट बिक्री गर्दै आएको थियो।
माघ २७ गते दिउँसो ३ बजे त्रिभुवन विश्वविद्यालयको हाताभित्र क्रिकेट खेल मैदान प्रवेशद्वारमा उनीहरू दुई जनाले टिकट बिक्री गरिरहेको अवस्थामा फेला परेका थिए।
इ-सेवाको स्टेटमेन्ट हेर्दा उनीहरूले दुई हजार ६४७ रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ।
यसरी बेइमानीपूर्व विश्वासमा पारी कम्पनीलाई नोक्सानी पुर्याएको भन्दै उनीहरूविरूद्ध ठगी र लिखतसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।
उक्त अनुसन्धानको मुद्दा काठमाडौं जिल्ला अदालतमा आइतबार दर्ता समेत भएको छ। सेतोपाटी

