बर्दियामा बालविवाह अझै रोकिएको छैन् । बालविवाह न्यूनिकरणका लागि करोडौँ लगानी भएपनि बालविवाह अझै रोकिएको छैन। बालविवाह न्यूनिकरणका लागि स्थानीय तह र स्थानीय तहसँग सहकार्य गरी विभिन्न संघसंस्थाले काम गर्दै आएका छन्।
बालविवाह न्यूनीकरणका लागि भन्दै संघसंस्थाले बालबालिका, अभिभावक बडघर, जनप्रतिनिधि, धर्म गुरुहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायतलाई लगेर महँगो होटेलमा सेमिनार, गोष्ठी, तालिम गर्दै करोडौँ रकम खर्च गरेका छन्। यसरी करोडौँ खर्च गरेको भए पनि बालविवाह रोकिएको छैन। सरकारी तथा गैरसरकारी संस्थाले गरेको करोडौँको लगानी बालुवामा पानीजस्तै भएको छ। कानुनले २० वर्षमुनिको विवाहलाई बालविवाह भनी प्रस्ट व्याख्या गरेको छ । तैपनि बालविवाह हुने क्रम रोकिएको छैन ।
स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बालविवाह न्यूनीकरणमा खासै सुधार भएको देखिँदैन । २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको संख्या हेर्दा बालविवाह अझै रोकिएको छैन र स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१÷८२ मा २८५ जना सुत्केरी भएका छन् । पहिलोपटक गर्भजाँच गर्ने ६६९ जना रहेका छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने २१२ जना रहेका छन् । ९० जनाले गर्भपतन गरेका छन् । आकस्मिक गर्भ निरोध पाँचजनाले गरेको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले बताइन् ।
त्यसैगरी, आर्थिक वर्ष ०८०÷८१ मा ४९८ जना सुत्केरी भएका छन् । पहिलोपटक गर्भजाँच गर्ने ७७५ जना रहेका छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने ३२१ जना रहेका छन् । ८२ जनाले गर्भपतन गरेका छन् भने आर्थिक वर्ष ०७९÷८० मा २० वर्षमुनिका ५७४ सुत्केरी भएका छन् । ८८८ जनाले पहिलोपटक गर्भवती जाँच गरेका छन् भने ४८७ जनाले परिवार नियोजनको साधन प्रयोग गरेका छन्। ५९ जनाले गर्भपतन गरेको स्वास्थ्य कार्यालय बर्दियाको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले जानकारी दिइन्।
बर्दिया अस्पताल गुलरियाका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताए । उनले भने, ‘प्रजनन अंग परिपक्व नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय बेथा लाग्ने, फिस्टुला हुने, प्रसूति हुँदा रक्तश्राव अत्यधिक हुने, आमा र बच्चाको ज्यानसमेत जान सक्ने, यौन अंग बढी च्यातिने, अप्रेसन गर्नुपर्ने र केहीमा मानसिक समस्या पनि देखिने हुन्छ ।’
नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनारले बालविवाह गर्ने बालबालिकाको पृष्ठभूमि हेर्दा घरपरिवारमा कलह, झै–झगडा हुने परिवार, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका रहेको बताइन् । उनले भनिन्, ‘बालविवाह रोक्नका लागि समाजका सबै तह र तप्का लाग्नुपर्छ । पछिल्लो समयमा हेर्ने हो, भने परिवारिक झै–झगडा, आर्थिक अभावबाहेक देखासिकी लहलहैमा लागेर पनि बालविवाह भइरहेको छ ।’
सरकारले सन् २०३० सम्म बालविवाहमुक्त देश बनाउने भनेर घोषण गरेको छ । तर, अझै पनि समाजमा बालविवाह कायम रहेको छ । यसलाई रोक्नका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने नागरिक समाजकी संयोजक सुनारले बताइन् । उनी भन्छिन्, ‘स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि कार्यविधि बनाएको छ । त्यसको प्रभावकारी कार्यान्वयन गर्नुका साथै प्रत्येक ६ महिनामा भएका कामको समीक्षा गरी रणनीति योजना परिवर्तन गरी काम गर्न सके बालविवाह न्युनीकारण गर्न सकिन्छ ।’
बालविवाह रोक्नका लागि जिल्लामा रहेका सरकारी कार्यालय तथा संघसंस्था मिलेर एउटा साझा मञ्च निर्माण गरी काम गरे बालविवाह रोक्न सकिने धारणा संयोजक सुनारले व्यक्त गरिन् । उनले भनिन्, ‘बालविवाह गर्दा स्वास्थ्यमा पर्ने असर र बालविवाह गर्दा कस्तो सजाय हुन्छ भनेर बालबालिकालाई सिकाउन आवश्यक रहेको छ भने समाजका अगुवा र बडघरले पनि बालविवाह रोक्न सक्रिय भएर लाग्नुपर्छ ।’
बर्दियामा बालविवाह न्यूनीकरणका लागि दातृ निकायबाट रकम ल्याएर बालविवाह न्यूनीकरण गर्ने भन्दै काम गर्ने संघसंस्था करिब एक दर्जनजति छन् । संघसंस्थाले स्थानीय तहमा कानुन बनाउने काममा प्रत्यक्ष–अप्रत्यक्ष सहयोगसमेत गरेका छन् भने बालविवाह न्यूनीकरणका लागि तथ्यांक संकलनदेखि बालविवाहमुक्त घोषणा पालिका संघसंस्थामा निर्भर रहेको छ । तैपनि बर्दियामा बालविवाह रोकिएको छैन । सौजन्य नयाँ पत्रिका

