
मनोज यादव-
सर्लाही,असाढ १४ तराईको मधेसी समाजमा दाइजो प्रथा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेको छ, जहाँ विवाह संस्कार अझै पनि खर्चिलो, देखासिकी र आर्थिक बोझको पर्याय बनेको छ। तर यिनै रूढीवादी परम्परालाई चुनौती दिँदै सर्लाहीका दुई युवाले आदर्श विवाह गरी समाजमा सकारात्मक सन्देश दिएका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गरहा टोल निवासी छोटेराज रामले दाइजो बिना विवाह गरेर समाजमा उदाहरणीय काम गरेका छन्। पिता श्रीकिशुन राम र आमा कोशिला देवी रामका कान्छा छोरा छोटेराजले हरिपुर नगरपालिका वडा नं। २ निवासी परमेश्वर रामकी छोरी चंचल रामसँग साधारण तरिकाले विवाह गरेका हुन्। उनीहरूको विवाह २०८२ साल जेठ २९ गते हिन्दू परम्परा अनुसार न्यून खर्चमा सम्पन्न भएको थियो।
छोटेराज हाल काठमाडौंमा सैलुन व्यवसाय गर्दै जीविकोपार्जन गरिरहेका छन् भने चंचल हरिपुरकै श्री जनकल्याण प्राथमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । चंचल ८ सन्तानमध्ये घरकी कान्छी छोरी हुन्।
छोटेराज भन्छन्, ूम समाजमा दाइजो प्रथाले ल्याउने विकृति देख्दै हुर्किएँ। केही हप्ता अघि यसै गाउँको एक युवा इन्जिनियर कृष्णनन्दन महतोले पनि यसैगरी साधारण तरिकाले विवाह गर्नुभएको थियो। उहाँबाट प्रेरणा पाएँ र म पनि यस्तै गर्न चाहन्थेँ।ू
केही साताअघि सोही गाउँका कृष्णनन्दन महतोले पनि आफ्नै जातकी नर्सिङ पेसामा संलग्न युवतीसँग गोडैतामा दाइजो नलिई आदर्श विवाह गरेका थिए। एकै पालिका र टोलबाट छोटो अन्तरालमा दुई जनाले गरेका यस्ता विवाह समाज परिवर्तनका लागि उल्लेखनीय कदम मानिएको छ।
स्थानीय बुद्धिजीवी रामेश्वर महतो भन्छन्, ूयी युवाहरूले आजको समाजमा नयाँ सोचको बीउ रोपेका छन्। पालिकाले यस्ता सकारात्मक कामको कदर गर्दै सम्मान गर्नु जरुरी छ।ू
दाइजो प्रथा जस्तो सामाजिक कुरीति विरुद्ध आवाज उठाउनु र व्यवहारमै परिवर्तन देखाउनु सानो कुरा होइन। यी विवाहले समाजमा नयाँ सन्देश दिनुका साथै युवाहरूलाई पनि आत्मनिर्भर र विवेकशील बन्न प्रेरणा दिने विश्वास लिइएको छ।