
मनोज यादव—
सर्लाही,जेठ २९ २०८२/८३ को बजेटमार्फत सरकारले सुनचाँदी, हिरा-जवाहरात तथा हस्तकला व्यवसायमा लगाएको २% विलासिता कर र १३% मूल्य अभिवृद्धि कर (VAT) को विरोधमा सर्लाहीका तीन सुनचाँदी व्यवसायी संघहरुले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका छन्।
सुनचाँदी व्यवसायी संघ मलंगवा, हरिवन र नेपाल सुनचाँदी व्यवसायी महासंघ नगर समिति लालबन्दीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा अव्यवहारिक कर संरचनाले व्यवसाय धरासायी हुने खतरा औंल्याइएको छ। उनीहरूले नयाँ कर नीति न व्यवसायमैत्री रहेको न उपभोक्ता हित अनुकूल भएकाले तत्काल खारेजीको माग गरेका छन्।
ज्ञापनपत्र बुझाइसकेपछि व्यवसायीहरुले मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै करको भारका कारण बजारमा मन्दी बढेको, उपभोक्ताले १९% सम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था आएको र यो अवस्थाले अवैध आयात र व्यवसाय बन्द हुने खतरा बढाएको जनाएका छन्।
उनीहरूले ६ बुँदे माग सहित ऐन, नीति तथा कर संरचनामा पुनर्विचार गरी व्यवसाय जोगाउने पहल गर्न सरकारलाई आग्रह गरेका छन्। माग सम्बोधन नभए व्यवसायमै ताला लगाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी व्यवसायीहरुले दिएका छन्।
विरोध स्वरूप मलंगवाका सुनचाँदी व्यवसायीहरुले आज(बिहीबार)आ-आफ्नो पसलको सटरमा ताल्चा लगाएर साँचो प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई बुझाएका छन् । शुक्रवार यसैगरी हरिवन स्थित इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र पसलमा ताल्चा लगाएर साँचो बुझाउने कार्यक्रम रहेको सुनचाँदी व्यवसायी संघ मलंगवा सर्लाहीका अध्यक्ष विनय साहले जनाएको छ।