
लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २१ स्थानीय तहमा बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय जनकपुरधामको आयोजनामा मलंगवा स्थित होटल सुजाता प्यालेसमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, बालबालिका शाखाका शाखा प्रमुखलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
स्थानीय तहमा बालबालिकाको अधिकार संरक्षण र संवर्धनका लागि जारी भएका ऐन, नियम र नीतिहरूको कार्यान्वयनको अवस्थाबारे छलफल गरि कार्यान्वयनमा देखिएका चुनौतीहरूको पहिचान र समाधानका लागि सामूहिक रणनीति तयार पार्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मधेश प्रदेश समन्वय अधिकारी संजिव महतोले जानकारी दिए।
समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र संरक्षणका लागि ऐनको सही कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्।
कार्यक्रममा सहभागीहरूले बालविवाह, बालश्रम, शिक्षा, स्वास्थ्य, पोषण र बालमैत्री स्थानीय शासनबारे अनुभव साटासाट गरेका थिए। साथै, ऐन कार्यान्वयनमा देखिएका समस्याहरू र तिनको समाधानबारे सुझावहरू पनि राखिएको थियो।
यो कार्यक्रम मधेश प्रदेशकाे ८ वटै जिल्लामा संचालन गरिएकाे आयोजकले जानकारी दिए।