Loktantra Khabar National Weekly
Ad

सर्लाही ब्रह्मपुरीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

लोकतन्त्र खबर
२ जेष्ठ २०८२

सर्लाही, जेठ १  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित भेल्ही–फुलजोर सडकखण्डमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

 

बयलबासबाट भेल्हीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 30 W 3252 रहेको मोटरसाइकलले पैदल हिँडिरहेका ५० वर्षीय राम प्रताप पण्डितलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान करिब ६ बजे LS न्यूरो अस्पताल बारामा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

 

दुर्घटनामा अर्को पैदल यात्री ५६ वर्षीय झब्सी सहनी सामान्य घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि राति नै घर पठाइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक भारत बिहार राज्य, सितामढी जिल्लाका २२ वर्षीय बिरजन पटेलको दाहिने आँखामा, कानमा र बायाँ खुट्टामा चोट लागेको छ। उनी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको जनाइएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्ति ५४ वर्षीय हजारी प्रसाद रौनियारको निधार र आँखामा चोट लागेको छ। दुवैलाई थप उपचारका लागि बिरगञ्ज पठाइएको छ।

 

दुर्घटनापछि मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: