
मनोज यादव-
सर्लाही, वैशाख ३० सर्लाहीको सदरमुकाम मलंगवास्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवनको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ। मलंगवा नगरपालिका–२ स्थित पब्लिक माध्यमिक विद्यालय अगाडि झण्डा बजारमा निर्माण हुने सो भवनको शिलान्यास मुख्यमन्त्री सतिश कुमार सिंह र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले संयुक्तरूपमा विधिपूर्वक गरेका हुन्।
शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले अत्यधिक व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नहुनु विडम्बनापूर्ण रहेको बताउँदै, नयाँ भवन निर्माण सुखद सन्दर्भ भएको उल्लेख गरे। उनले अनुमति विना तथा मापदण्ड विपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूको तत्काल निरीक्षण गरी कडा कारबाही गर्न सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खडकालाई निर्देशन दिएका छन्। साथै, शिक्षाको स्तर खस्किँदै गएकाले विद्यालयहरूको अनुगमन कार्य तीव्र पारिने जानकारी पनि उनले दिए।
श्रम तथा यातायात मन्त्री रायले यातायात क्षेत्रमा व्याप्त बिचौलियाको दखल नियन्त्रण गर्न अत्याधुनिक ट्रायल सेन्टर निर्माण गरिने बताए। उनले नयाँ यातायात विधेयक तयार भइसकेको जानकारी दिँदै, यसले सेवाग्राहीहरूलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्राप्तिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
नयाँ भवन निर्माणका लागि श्रीराम कबिर मठ, मलंगवा–२ ले ९ कठ्ठा जग्गा दान गरेको हो। मुख्यमन्त्री सिंहले मठका प्रमुखलाई कदरपत्र प्रदान गर्दै आगामी प्रदेशको बजेटमा मठको स्तरोन्नतिका लागि रकम छुट्याइने आश्वासन दिए।
कार्यक्रम यातायात व्यवस्था कार्यालय मलंगवाका निमित्त प्रमुख शशी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशका सचिव युवराज अधिकारी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, कबिलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय, विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादव, श्रीराम कबिर मठका महन्थ विश्वेश्वर राम दास वैरागी, समाजसेवी बन्तिलाल अधिकारीलगायतले मन्तव्य दिएका थिए।
त्यस्तै, कबिलासी नपा उपप्रमुख पुनम कर्ण, सर्लाही प्रहरी प्रमुख एसपी खडका, सशस्त्र प्रहरी प्रमुख एसपी देवबहादुर चन्द, मलंगवा–१ का वडाध्यक्ष नवल किशोर यादव, वडा नं। २ का धिरेन्द्र साह, वडा नं। ३ का प्रमोद राय यादव, वडा नं। ९ का चन्देश्वर राय, विभिन्न दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्य तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहायक शाखा प्रमुख दिपेन्द्र कुमार यादवले स्वागत मन्तव्य राख्दै प्रमुख तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए।
हाल मलंगवा नगरपालिका वडा नं। १० स्थित जिल्ला समन्वय समितिको भवनबाट सञ्चालन भइरहेको यातायात कार्यालय २०८० मंसिर १९ गते स्थापना भई मंसिर २९ गतेदेखि सेवा प्रवाहमा आएको निमित्त प्रमुख यादवले जानकारी दिए।