
मनोज यादव-
सर्लाही,बैशाख १९ सामाजिक कुरीति विरुद्ध दृढ संकल्प गर्दै सर्लाहीका एक युवा ईन्जिनियरले दाइजो नलिने निर्णय गर्दै आदर्श विवाह गरेका छन्। प्रचलित परम्परागत सोच र समाजमा गहिरो गरी जरा गाडेको दाइजो प्रथालाई चुनौती दिँदै उनले बिना तामझाम र बिना दाइजोको सादगीपूर्ण तरिकाले विवाह सम्पन्न गरेका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न(४ गरहा टोल निवासी मोहन महतोका छोरा ईन्जिनियर कृष्णनन्दन महतोले जिल्लाकै गोडैता नगरपालिका वडा न(७ जानकीनगर टोल निवासी शिवशंकर महतोकी छोरी उर्मिला महतो सँग यही बैशाख १० गते हिन्दु रीतिरिवाज अनुसार मागी विहाह गरेका छन् । दुवै परिवारका सीमित सदस्य तथा नजिकका आफन्त मात्रको उपस्थितमा विवाह सम्पन्न भएको थियो।
नवविवाहित ईन्जिनियर कृष्णनन्दनले भने, “दाइजो एक सामाजिक अभिशाप हो। यसले महिला र उनका परिवारलाई आर्थिक तथा मानसिक पीडा दिन्छ। म यो प्रथालाई समर्थन गर्न सक्दिनँ। त्यसैले मेरो विवाहमार्फत समाजलाई सन्देश दिन चाहें कि प्रेम, समझदारी र समानतामा आधारित वैवाहिक सम्बन्ध नै सबैभन्दा बलियो हुन्छ।”
बेहुला पक्षका अभिभावकले समेत यो निर्णयलाई खुलेर समर्थन गरेका छन् । उनका पिताले भने, “हामीले खोजे अनुसारकै केटी पायौं । केटी पनि पढेलेखेकी छिन् । उनी पनि बेचलर अफ नर्सिङ गरेर जागिर खाइरहेकी छिन् । उनले गर्वका साथ भने, ूहामी छोरालाई सम्पत्ति होइन, राम्रो संस्कार र सहकार्यको मूल्य सिकाएका छौं। हामीलाई दाइजोभन्दा छोराछोरीको संस्कार र आत्मसम्मान ठूलो लाग्छ।ू
मानव अधिकार तथा सामाजिक न्याय क्षेत्रमा सक्रिय इन्सेकका प्रतिनिधि बुधन साह भन्छन्, “यस्तो कदम लिने युवाहरू नै समाजका असली परिवर्तनकर्ता हुन्। दाइजो प्रथाविरुद्ध जनचेतना फैलाउन यस्ता उदाहरण अत्यन्त महत्वपूर्ण छन्।”
साधारण तर आत्मीय वातावरणमा सम्पन्न भएको यस विवाहले समाजमा एक सकारात्मक लहर ल्याएको छ।
यस्ता घटनाहरूले मात्रै दाइजोको चंगुलबाट हाम्रो समाज मुक्त हुन सक्छ।ू
समाज परिवर्तन साना तर प्रभावशाली कदमबाट सुरु हुन्छ भन्ने सन्देश दिँदै यो विवाहले हजारौं युवालाई दाइजो प्रथाको विरोधमा उभिन प्रेरणा दिने अपेक्षा गरिएको छ।