Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०८२ सुरु

लोकतन्त्र खबर
१५ बैशाख २०८२

मनोज यादव—
सर्लाही  बैशाख १५   शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीको आयोजना तथा स्थानीय साझेदार संस्थाहरूको सहकार्यमा सर्लाही जिल्लामा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०८२ प्रारम्भ गरिएको छ।

 

सोमबार सदरमुकाम मलंगवाको सहिद चौकमा आयोजित उद्घाटन कार्यक्रमपछि उक्त अभियान जिल्ला भर सञ्चालन हुने छ। कार्यसप्ताह बैशाख १५ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमसहित अगाडि बढाइने आयोजकले जनाएको छ।

 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीका संयोजक अधिवक्ता राजेश पासवानको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, युएनएफपिएका कार्यक्रम विज्ञ बच्चालाल महतो, बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय, मानव अधिकारकर्मी बुधन साह, महिला अधिकारकर्मी दिव्या आशा साह, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत गोबिन्द कुमार पासवानसहित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रदेश र संघीय सरकार तथा राजनीतिक दलहरूलाई सार्वजनिक शिक्षामा सुधार ल्याउन, शिक्षामा पर्याप्त लगानी सुनिश्चित गर्न र जस्तोसुकै आपतकालीन अवस्थामासमेत बालबालिकाको शैक्षिक अधिकार जोगाउन रचनात्मक दवाब सिर्जना गर्नु अभियानको मूल उदेश्य रहेको संयोजक पासवानले जानकारी दिए।

 

उनले विद्यालय शिक्षा ऐनलाई संविधानको मर्मअनुकूल तत्काल जारी गर्नुपर्ने, शिक्षा क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेट सुनिश्चित गर्नुपर्ने र समावेशी शिक्षा तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारलाई थप जवाफदेही बनाउनु पर्ने बताए ।

 

उनले भने, यसै अभियान मार्फत  आपतकालीन अवस्थाबाट प्रभावित सीमान्तकृत समुदायहरूको आवाज बुलन्द गर्दै जनचेतना फैलाउने र बालबालिका, युवा तथा वयस्कहरूको लागि अनुकूल तथा समावेशी शिक्षा रूपान्तरणका लागि निरन्तर वकालत गरिने छ।

 

अभियान संचालनको क्रममा  विभिन्न शैक्षिक जनचेतनामूलक गतिविधिहरू र छलफल कार्यक्रमहरू पनि जिल्लाभर सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: