
सर्लाही, बैशाख ३
सर्लाहीको कौडेना गाउँपालिका वडा न-४ मोतिपुरमा आगलागीबाट एक घरमा ठूलो क्षति भएको छ। बुधबार बिहान भएको उक्त घटनामा स्थानीय पप्पु साह सोनारको भान्सा घर पूर्णरूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कौडेनाले जनाएको छ।
प्रहरीका अनुसार, साहकी १० वर्षीया छोरी सनी कुमारी साहले भिक्सको पात प्रयोग गरी खाना पकाउने क्रममा अचानक आगो सल्किएको हो। आगो खरको छानो र बाँसको टाटीबेरा प्रयोग गरिएको भान्सा घरमा तीव्र गतिमा फैलिँदा ठूलाे क्षति पुगेको जनाइएको छ।
आगलागीका कारण भान्सा घरभित्र रहेका दुईवटा साइकल, अन्नपातलगायतका सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको भए पनि मानवीय र पशुजन्य क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानीयवासीहरू र सुरक्षाकर्मीहरूको सक्रियतामा आगो बिहान करिब साढे ८ बजेतिर नियन्त्रणमा लिइएको थियो।