
लोकतन्त्र समाचारदाता—-
सर्लाही,चैत ११
हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका कक्षा १ मा नेपाली विषय पढाउने शिक्षकहरूलाई लक्षित गरी तीन दिने पूर्नताजगी तालिम सम्पन्न भएको छ।
‘सिकाइ प्लस’ परियोजनाअन्तर्गत आयोजित उक्त तालिम आइतवार हरिपुर्वा नगरपालिका वडा नं. ५ स्थित नेपाली खाजा घर होटेलमा सम्पन्न भएको हो।
तालिममा २३ वटा विद्यालयका शिक्षकहरू सहभागी भएका थिए। तालिमको सहजीकरण प्रशिक्षक दुर्गा प्रसाद पाण्डे र तालिम केन्द्र कलैया बाराका रोष्टर प्रशिक्षक मनोज प्रसाद साहले गरेका थिए। तालिमको अनुगमन तालिम केन्द्र कलैया बाराका शाखा अधिकृत राजन भण्डारी र हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनक काफ्लेले गरेका थिए।
तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख काफ्लेले एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रणालीमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनका अनुसार, नेपालमा एकीकृत पाठ्यक्रम शिक्षामा सुधार ल्याउने, विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो। आधारभूत तह (कक्षा १–३) मा लागू गरिएको यो पाठ्यक्रम विभिन्न विषयलाई आपसमा सम्बन्धित गरी जीवनोपयोगी बनाउन लक्षित छ।
तर, कार्यान्वयनमा केही चुनौतीहरू देखिएको काफ्लेको भनाइ छ। शिक्षकहरूको अभिमुखीकरणको कमी, पाठ्यक्रम प्रभावकारी बनाउन आवश्यक स्रोतसाधनको अभाव, तथा स्थानीय तहमा पाठ्यक्रम तर्जुमा गर्ने अधिकार सम्बन्धी अन्योलता मुख्य चुनौती रहेका छन्। उनले तालिमपछि मूल्याङ्कन प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सर्लाहीको साझेदारीमा सञ्चालित ‘गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना’ मधेश प्रदेशका कमजोर अवस्थामा रहेका बालबालिकाहरूलाई शिक्षामा समान पहुँच पुर्याउने लक्ष्यसहित सञ्चालन भइरहेको संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिए। उनका अनुसार, यो परियोजना सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रह्मपुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा तथा माधव नारायण नगरपालिकामा सञ्चालनमा रहेको छ।