
लोकतन्त्र समाचारदाता-
सर्लाही, चैत ७
कतार एम्बेसी तथा कतार च्यारिटीको आर्थिक सहयोगमा चेतना संस्था द्वारा सर्लाहीका ३१० विपन्न तथा गरिब मुस्लिम परिवारलाई रमजान पर्वको अवसरमा खाद्य सामग्री वितरण गरिएको छ।
बुधबार आयोजित विशेष कार्यक्रममा पूर्व सांसद रुही नाज मिकरानी को प्रमुख आतिथ्यतामा खाद्यान्न सामग्री वितरण गरिएको हो। कार्यक्रममा कतार च्यारिटीका समाज कल्याण अधिकारी गुड्डी परविन, मलंगवा नगरपालिका वडा नं। ५ भाँडसरका वडाध्यक्ष जुल्फेकार मिकरानी, चेतना संस्थाका संयोजक चन्दन कर्ण, सल्लाहकार मुकेश जयसवाल, स्थानीय बुद्धिजीवी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वितरण गरिएका राहत सामग्रीमा प्रत्येक घरपरिवारलाई २५ केजी चामल,५ केजी आँटा,५ लिटर खाने तेल,३ केजी चना,२ केजी चिनी,२ केजी सेवई,१ केजी नुन र खजुर लगायतका खाद्यान्न रहेको चेतनाका संयोजक चन्दन कर्णले बताए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद मिकरानीले यस्तो सहयोग अभियानले विपन्न मुस्लिम समुदायलाई रमजान पर्व उल्लासमय बनाउन ठूलो मद्दत पुग्ने बताउँदै कतार च्यारिटी र चेतना संस्था लाई धन्यवाद ज्ञापन गर्नुभयो।
त्यस्तै, चेतना संस्थाका सल्लाहकार मुकेश जयसवाल ले संस्थाले आगामी दिनहरूमा पनि यस्तै सामाजिक सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस किसिमका सहयोग अभियानले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको कतार च्यारेटीका समाज कल्याण अधिकारी परविनले बताउनुभयो ।