
लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत्र ३
सर्लाहीको बलरा नगरपालिकामा सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिवार साँझ करिब ७:१० बजे बलरा न.पा वडा न-८, बालुवाभारस्थित हुलाकी सडकखण्डमा पार्किङ गरेर राखिएको BR 06 PE 2820 नम्बरको जिपलाई मधुवनी गाउँतर्फ जाँदै गरेको BR 30 AE 2490 नम्बरको स्कारपियोले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। स्कारपियो अनियन्त्रित भई सडक किनारमा बसेका चार जनालाई ठक्कर दिँदा चारैजना गम्भीर घाइते भएका थिए।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गडहियाको टोलीले घाइतेहरुलाई उद्धार गरि उपचारका लागि अस्पताल पठाएका थिए।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका भारतको सितामढी जिल्ला बरगैनिया नन्दबारा ग्रामपञ्चायत निवासी रामेश्वर साहका पाँच वर्षीय छोरा पियुष कुमार साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा राति ८:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी ले जानकारी दिएका छन् ।
यस्तै, दुर्घटनामा बलरा-८, बालुवाभारका महेश साहकी पाँच वर्षीया छोरी आशीका कुमारी, ६५ वर्षीय सुनिलाल महतो र ४० वर्षीया लिला देवी घाइते भएका छन्। उनीहरूको गडहिया स्थित धानी मोडेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ठक्कर दिने स्कारपियो प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहेकोले निजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।