
मनोज यादव
सर्लाही ,माघ १२
सर्लाहीको सदरमुकाम मलंगवा नजिकै रहेकोे सिमावर्ती गाउँ भाँडसर नाकाबाट व्यापक रुपमा धानको तश्करी भइरहेको छ।
तश्करहरु सिमापारीका भारतीय गाउँहरुबाट खरिद गरेर ल्याएको धानका बोराहरु मोटरसाइकलमा लोड गरि नेपाली नाका भाँडसरमा थुपार्ने गरेको र पछि पहिलादेखि नै स्टेण्डबाई राखिएको ट्रेक्टरमा लोड गरि जिल्लाको ईश्वरपुर,लालबन्दी लगायतका बजारमा रहेका सेलर मिलहरुमा पुर्याएर बेच्ने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
धानका बोराहरु जम्मा गर्ने गोदाम भाँडसरको प्रहरी चौकी रहेको स्थानदेखि मात्र सय मिटरको दुरिमा रहेकोे भएपनि आँखै अगाडी तश्करीको सामान ओसारपसार भइरहेको देख्दादेख्दै पनि प्रहरीहरु मुकदर्शक भएर बसेको स्थानीयहरुले बताए । दिनको ५ दिन ७ ट्रेक्टर धान उक्त नाका बाट तस्करी हुने गरेका कारण सरकारको लाखौंको राजस्व गुम्दै गएको छ।
यस नाकामा पहिला बि।ओ।पि शिवनगरका सशस्त्र प्रहरीको टोलीले डिउटी गरेपनि अहिले भने सो नाका सुनसान रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक बिनोद थापाले धान तस्करी रोक्न आफुले हर सम्भव प्रयास गरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पनि तस्करी रोक्न प्रहरी परिचालन गर्ने बताएका छन् ।