Loktantra Khabar National Weekly
Ad

हुलाकी सडकको निर्माणकार्य सुरु गर्न माग गर्दै मलंगवाका जनताहरु आन्दोलनमा उत्रिए टायर बालेर प्रदर्शनसहित सडक जाम

लोकतन्त्र खबर
११ पुष २०८१

मनोज यादव—
सर्लाही ,पुस ११
हुलाकी सडकखण्ड अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित झण्डा बजार९पब्लिक स्कुल०नजिक बुधबार स्थानीयवासीले सडक अवरुद्ध गरेका छन । सडक निर्माणको माग गर्दै विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका हुन ।
मलंगवा बजार क्षेत्र भित्रको हुलाकी सडक अन्तर्गत झण्डा बजार चौकमा रहेको ट्रान्सफर्मर नजिकको चौमुखी सडकको कलभर्ट ठेकेदारले विगत १ महिना भन्दा बढी समयदेखि आधा अधुरो काम गरेर त्यतिकै छाडेका कारण सर्वसाधारण नागरिक सहित सो सडक भएर गुज्रिने बस,जिप,मोटरसाइकल ,ट्याक्टर,
ट्रक, एम्बुलेन्स लगायतका सवारीसाधनहरुलाई आवत जावतमा कठिन हुने गरेकोले सडक निर्माणको कार्य अविलम्ब सुचारु गर्न दवाव दिन बाध्य भएर सडक अबरुद्ध गरि प्रदर्शन गर्नु परेको विरोध प्रदर्शनका अगुवा स्थानीय शिक्षक राम विश्वास साहले बताए ।
सर्लाही जिल्लाको पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सदरमुकाम मलंगवामा हुलाकी सडकको काम अलपत्र अवस्थामा रोकिएको छ । जिल्लाका अन्य ठाउँको हुलाकी सडक बनिसके पनि सदरमुकाम मलंगवामा भने काम बिचमै रोकेर अस्तव्यस्त अवस्थामा छाडिएको छ।
मलंगवा नगरपालिकाको वडा न-१० टावरचोक देखि वडा न-८ रंजितकार कोल्ड स्टोरेज र वडा न-२ राजश्री सिनेमा चोकदेखि वडा न-७ मुसैलीसम्मको काम अघि बढ्नै सकेको छैन् ।
कच्ची सडकका कारण स्थानीयहरु धुलोको सास्ती खेप्न बाध्य छन् । बारम्बार घच्घच्याउँदा पनि सडक कालोपत्रे हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । करिव दुुई किलोमिटर सडक कालोपत्रे हुन नसकेपछि धुलोले असाध्य समस्या गरेको भन्दै पटकपटक चक्काजाम , टायर बालेर प्रदर्शन जस्ता दबाबमूूलक कार्यक्रमहरु समेत गरिसके पनि कुनै सुनवाइ नभएको र ठेकेदार आफ्नै तरिकाले मनपरि र ढिलासुस्ती काम गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
मलंगवा-२ राजश्री सिनेमा चौकदेखि झण्डा बजार चौकसम्मको सडकमा जथाभावी रुपमा गिट्टी बिछाएर त्यतिकै छाडिएको छ,भने सडक छेउको नाला माथि पनि ढक्कन नलगाइ त्यतिकै छाडिएको छ। जसले गर्दा दिनहुँजसो साना बालबालिका,वृद्धवृद्धा र व्यस्कहरु सहित पशुचौपायाहरु नाला भित्र लडेर घाइते हुने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मलंगवाबाट आएका प्रतिनिधिले ठेकेदारलाई कार्यालयमा बोलाएर स्थानीयहरुको उपस्थितिमा यस विषयमा कुरा गर्ने साथै सडक निर्माणको काम अविलम्ब सुरु गराउने भन्ने सर्तमा अवरुद्ध गरिएको सडक खोलिएको प्रदर्शनका अगुवा शिक्षक साहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: