मनोज यादव—
सर्लाही,मंसिर २४
मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर-४ गरहाटोल स्थित गढीमाईको पञ्चवर्षीय मेला महोत्सव २०८१ को अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ।
आइतवार एक समारोहका बिच प्रमुख अतिथि मन्त्री रायले गरहाटोल स्थित गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गर्दै मेलालाई भब्य र सभ्य रुपमा आयोजना गर्न विभिन्न माध्यम बाट सहयोग पुर्याउने व्यक्तिहरुलाई कदरपत्र द्वारा सम्मान गरेका हुन्।यसअघि गर्हाटोलमा रहेको गढीमाईको पुजा खुल्ला स्थानमा हुँदै आएको थियो। भारतको सुरसंड निवासी एक श्रद्धालु सरस्वती देवी रौनियारले भाकल पूरा भएपछि सो स्थानमा आफ्नो निजी २५ लाख रुपैयाँको लगानीमा भब्य तथा सुन्दर मन्दिर निर्माण गरि दिएका छन्।सोही अवसरमा मन्दिर निर्माता रौनियारलाई पनि प्रमुख अतिथि मन्त्री रायले सम्पूर्ण गरहाटोल ग्रामबासीको तर्फबाट कदरपत्र प्रदान गरेका छन् ।
मन्त्री रायले सर्लाहीका चारजना पत्रकारहरुलाई पनि सम्मान गरेका छन् ।
मेला समितिका अध्यक्ष नवीन सिंहको अध्यक्षतामा आयोजना भएको सम्मान कार्यक्रममा श्रम तथा यातायात मन्त्री रायका साथै विशिष्ट अतिथि काँग्रेस नेतृ तथा समाजसेवी शर्मिला थापा ,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो,उपाध्यक्ष गीता देवी,विभिन्न राजनैतिक दलका प्रतिनिधि ,विभिन्न वडाका वडाअध्यक्ष,स्थानीय बुद्धिजीवी ,समाजसेवी ,पत्रकार लगायत हजारौं श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो।
बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा बृहत रुपमा गरहाटोल गढीमाई मेलाको आयोजना गरिएको छ। यस गढीमाई मन्दिरमा विगत झै यसपटक पनि धुमधामका साथ पञ्चवर्षीय मेलाको आयोजना गरिएको छ।
गढी माई मेला मूल समितिका सल्लाहकार सरोज कुमार सिंह दनुवारका अनुसार बारा जिल्लामा रहेको गढीमाईमा गरहाटोलकै गढीमाईबाट माटो लगेपछि मात्र त्यहाँ पुजा सुरु हुने गरेको छ। बाराको गढीमाईमा जस्तै यहाँ पनि आफै बत्ती बल्ने गरेको उनले बताए ।यहाँ गरेको भाकल पूरा हुने गरेकोले चन्द्रनगरका मात्र नभई छिमेकी पालिकाहरु सहित छिमेकी जिल्लाहरु र भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनहरु आउने गरेको उनले बताएका छन् । उनले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई मेलामा सहभागी भएर मेलाको शोभा बढाइ दिन अनुरोध गरेका छन् ।
गढीमाईको दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकहरुको लागि मेला समितिको तर्फबाट निःशुल्क दाउरा,शुद्ध खानेपानी र बासको साथै यातायातको समेत व्यवस्था मिलाइएको गढीमाई मेला समितिले जनाएको छ।
उक्त मेलामा मनोरञ्जनका लागि विभिन्न खेल तमासा र नाचको समेतको व्यवस्था गरिएको समितिले जनाएको छ। मेलामा आउने भक्तजनको सुरक्षाका लागि स्वयंसेवकहरु सँगै प्रहरीहरु समेत परिचालन गरिएको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: