Loktantra Khabar National Weekly
Ad

बलरामा दुईदिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सुरु,उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने

लोकतन्त्र खबर
१८ मंसिर २०८१

मनोज यादव(((
सर्लाही ,मसिर १८
सर्लाहीको बलरामा दुईदिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सुरु भएको छ।जिल्लामै पहिलोपटक आयोजना भएको उक्त विज्ञान प्रदर्शनी मेलाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्नुभएको छ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाले आज मंसिर १८ गते र भोली १९ गते दुई दिन मेला आयोजना गरेको छ। विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोंच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्यले आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको बलरा न।पा का प्रमुख रामा शंकर कुशवाहाले जनाएका छन् ।
वडा न(८ स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियाको प्रांगणमा संचालन भइरहेको विज्ञान प्रदर्शनी मेलामा विद्यार्थीहरुले नै तयार पारेका विज्ञान तथा आविष्कारका सामाग्रीहरु प्रदर्शनको लागि राखिएको छ। स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट १४ स्थानीय तहका ३७ वटा विद्यालयहरुलाई छनौट गरेको युनेस्काका सहायक महासचिव रामेश्वर प्रसाद यादवले जनाएका छन् ।
मेलामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका निमित्त इकाइ प्रमुख रामवृक्ष महतोले बताए माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै आधारभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने निमित्त इकाई प्रमुख महतोले जनाएको छ ।
विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले १५ लाख र युुनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्: