लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १६
“हामी सबैको प्रतिबद्धता :लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मंसिर १० गतेदेखि सर्लाहीमा विभिन्न कार्यक्रमहरु गरि लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान संचालनमा रहेको छ ।
अभियानकै क्रममा पाँचौ दिन मंसिर १५ गते शनिवार कबिलासी नगरपालिकाले ओरेक ,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) जिल्ला समिति सर्लाही,मानव अधिकार रक्षक संजाल सर्लाही,बाल कल्याण समाज ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही (NNDSWO) ,आशिष नेपाल ,इन्सेक ,सामी,यु एन एफ पि ए,जिल्ला प्रहरी कार्यालय,पहिचान नेपाल लगायत जिल्लामा कार्यरत एक दर्जन भन्दा बढी संस्थाहरुको सहभागीतामा “श्रमिक महिलाको सम्मान” विषयमा अन्तरक्रिया गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा कबिलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले महिलाहरुलाई हेर्ने दृष्टिकोण र हेपाहा प्रवृत्तिका कारण महिलाहरु पछाडि परेको बताएकी छिन् । व्यवस्थाहरू परिवर्तन भए पनि पुरुषहरूको मानसिकता परिवर्तन नभएकै कारण अहिले पनि महिलाहरू विभिन्न किसिमका हिंसाबाट पीडित हुनुपरेको उनले बताइन् ।
अगर्वा स्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको कार्यक्रमको अवसरमा आयोजक पालिकाले मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका अधिकारकर्मी तथा मानवअधिकारको क्षेत्रमा कलम चलाउँदै आइरहेका पत्रकारहरुलाई कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए। पालिकाले कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई पनि मायाको चिनो प्रदान गरेका थिए।
नगर उपप्रमुख कर्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह,,शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सर्लाही संयोजक राजेश पासवान लगायतले मन्तव्य राखेका थिए।
मानवअधिकार रक्षक संजाल सर्लाहीका सचिव संतोष कर्णले संचालन गरेको कार्यक्रममा कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर महतो,कार्यपालिका सदस्य बिनय कुमार कर्ण,मानवअधिकार रक्षक संजाल सर्लाही अध्यक्ष मुकेश मिश्र,यु एन एफ पि ए सर्लाहीका बच्चालाल महतो,अगर्वा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलिप कुमार कर्ण,महिला अधिकारकर्मी रम्भा देवी झा,पहिचान नेपालका अब्दुल सहमद लगायत जनप्रतिनिधि ,कर्मचारी ,विभिन्न संस्थाका प्रतिनिधि ,महिला स्वास्थ्य स्वयंसेविका,शिक्षक,विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिकाहरुले दाइजो प्रथा तथा बालविवाहको विषयमा सडक नाटक मञ्चन गरेका थिए।
मंसिर १० गतेदेखि सुरु भएको यो अभियान मंसिर २५ गतेसम्म संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: