Loktantra Khabar National Weekly
Ad

मन्त्रिमण्डलको संयुक्त टोलीद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत र पुनर्निर्माणको तयारी

लोकतन्त्र खबर
२२ आश्विन २०८१

सिन्धुली। बाढीपहिरोले देशभरमा व्यापक क्षति पुर्‍याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू संयुक्तरूपमा मंगलबार प्रभावित क्षेत्रमा पुगेका छन्।

गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षालगायतका मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। टोलीले बाढी प्रभावित काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा र ललितपुरको गोटीखेल क्षेत्रको निरीक्षण गरेको छ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, र रक्षामन्त्री मानवीर राईसहितको टोलीले बाढीपहिरोबाट भएको क्षति र तत्काल पुनर्निर्माण गर्नुपर्ने पूर्वाधारको अवस्थाबारे सरोकारवालासँग छलफल गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा मन्त्रीहरूले बाढीले भत्किएका सडक, पुल र अन्य संरचनाहरूको पुनर्निर्माण, राहत वितरण र दीर्घकालीन पुनर्स्थापनाको योजना बनाउने कार्यमा सरकारले प्राथमिकता दिने बताएका छन्।

गृह मन्त्रालयका अनुसार, असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म २४६ जनाको मृत्यु भइसकेको छ। यसका साथै, दर्जनौँ घाइते भएका छन् भने धेरै मानिस अझै बेपत्ता छन्।

बाढीपहिरोका कारण सयौँ घर, सडक, र अन्य भौतिक संरचना ध्वस्त भएका छन्। मन्त्रीहरूको टोलीले पीडित परिवारहरूलाई तत्काल राहत वितरणका कार्यक्रमलाई तीव्रता दिने र पुनर्निर्माणको काम छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

सरकारले राहत र पुनर्निर्माणका लागि विभिन्न चरणमा कार्ययोजना अघि बढाउँदै क्षतिग्रस्त भौतिक संरचना र आवास निर्माणमा विशेष जोड दिने भएको छ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: