Loktantra Khabar National Weekly
Ad

नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु, तीन घाइते

लोकतन्त्र खबर
१७ आश्विन २०८१

मलंगवा, १७ असोज – सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा आज बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । आज बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ । रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

ट्याक्टर पल्टिँदा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते दिनेश साहका अर्का छोरा १० वर्षीय आर्यन साहको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: