वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बुधबार सम्पन्न भएको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्ताहरुको हितमा विभिन्न निर्णयहरू लिएको छ।
बैठकमा उपभोक्ता ठगिने सम्भावनालाई न्यून गर्न बजार अनुगमनलाई तीव्र बनाउने र उपभोक्ता हित विपरीतका गतिविधिहरू नियन्त्रण गर्न सरोकारवाला निकायहरूसँग छलफल भएको थियो।
बैठकले बजार व्यवस्थित गर्न र उपभोक्तालाई नठग्न सहकार्य गर्दै सम्बद्ध कार्यालयहरूलाई निर्देशन दिएको छ। यसमा बजार अनुगमनलाई तीव्रता दिने, उपभोक्ताको हितलाई संरक्षण गर्ने, र उपभोक्ता हित बिपरीतका गतिविधिहरू नियन्त्रण गर्न ठोस कदम चाल्ने निर्णय गरिएको छ।
बैठकले विशेष रूपमा माछा-मासुको मूल्य निर्धारण र यसको विक्रि व्यवस्थित गर्न बिरगंज महानगरपालिकालाई जिम्मा दिएको छ। यसका लागि मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरिएको छ।
साथै, माछा-मासुको विक्रि स्थललाई सुरक्षित र सफा बनाउने, माछा काट्ने स्थानको सरसफाइ राख्ने, विक्रेतालाई एप्रोन लगाउन अनिवार्य गर्ने तथा विक्रि वितरण सटर भित्रै गर्न लगाउने व्यवस्था गर्ने पनि निर्णय भएको छ।
जथाभावी मूल्य लिने, अवैध तराजु प्रयोग गर्ने, बासी तथा कोल्डचेन नमेनेज गरेका माछा-मासु जफत गरि कानुन अनुसार कारबाही गर्ने निर्णय समेत गरिएको छ।
बैठकमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, महानगरपालिकाका प्रतिनिधि, पशु सेवा शाखाका अधिकारी, तथा माछा-मासु व्यवसायी संघका पदाधिकारीहरूको उपस्थिति थियो।
बैठकले पर्सा जिल्लामा चाडपर्वको समयमा उपभोक्ताहरु ठगिन नदिन ठोस कदम चाल्ने प्रतिवद्धता जनाएको छ। यात्रा डेली